Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मधेस केन्द्रित साना ४ दलले बनाए मोर्चा


काठमाडौं । मधेश केन्द्रित साना चार दलले लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेका छन् । मधेस केन्द्रित साना दलहरू तराई–मधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले सोमवार लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेको घोषणा गरेका हुन् । मोर्चाले जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो ११ बुँदे साझा अवधारणा–पत्र सार्वजनिक गरेको छ ।

अवधारणा–पत्र सार्वजनिक गर्दै तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृशेषचन्द्र लालले मोर्चाले मधेस आन्दोलनका मुद्दाहरूमा केन्द्रित रहेर समसामयिक विषयहरूमा मधेसको सही प्रतिनिधित्व गर्ने बताए । उनले मधेसको मुद्दाको मसाललाई आफूहरूले अगाडि बढाउने बताए । मधेस आन्दोलनलाई अगाडि बढाउन मोर्चा गठन गरेको उनको भनाइ छ ।

मोर्चाको अवधारणा–पत्रमा लोकतन्त्रप्रति प्रतिबद्धता व्यक्त गर्दै विभिन्न षड्यन्त्र र कुटिल अभ्यासहरूबाट लोकतन्त्रमाथि भइरहेको प्रहारविरुद्ध केन्द्रित रही लोकतान्त्रिक मधेसी मोर्चाले लोकतान्त्रिक शक्तिहरूबीच एकजुटताको निमित्त पहल गर्ने भनिएको छ । त्यस्तै मोर्चाले पहिचानमा आधारित रही प्रदेशहरूको सीमाङ्कन, समानुपातिक समावेशिता, पूर्ण समानुपातिक प्रतिनिधित्व, भाषा र संस्कृतिको विशिष्टताको सम्मानको माग गरेको छ ।

त्यस्तैगरी राष्ट्रिय सभामा जनसङ्ख्यामा आधारित प्रतिनिधित्व र संसदीय अभ्यासमा राष्ट्रिय सभाको समान भूमिकालगायतका विषयमा संविधान संशोधनको माग गरिएको छ । संविधानमा भएकै व्यवस्थालाई समेत अभ्यासमा पन्छाइने र बेवास्ता गर्ने कामहरू भइरहेको आरोप लगाउँदै मोर्चाले समावेशिताको सिद्धान्तको मर्मअनुसार वर्तमान संविधानको संशोधन गरी समानुपातिक समावेशिताको अभ्यासलाई न्यायोचित र सहज बनाउनुपर्ने भनेको छ । मोर्चाले पालिकाको दलविहीन चुनाव तथा प्रदेश सभा र सङ्घीय संसद्को चुनावमा पूर्ण समानुपातिक निर्वाचन पद्धति अपनाइनुपर्ने लगायतका विभिन्न मागहरू राखेको छ ।

 


क्याटेगोरी : समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट