Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सत्य र निष्ठाको कथा


सिन्धुली, तीनपाटन–१ का मेघबहादुर दाहालका कुरा सुन्दा बच्चादेखि बृद्ध वयका, सबै मानिस उत्तिकै आकर्षित हुन्छन । मुटु उपचारका लागि काठमाडौं आएका ७० वर्षीय दाहालमा प्रचुर आत्मविश्वास छ ।

आजभन्दा ५० बर्ष अगाडि नै वडा सदस्य भइसकेका उनी समाजसेवालाई कर्तव्य ठान्छन । तर, चेतनशील कर्तव्य यात्री दाहाललाई तत्कालीन निरंकुश सत्ताले भने भरपुर दुःख दिएको थियो । वडा सदस्य हुँदाका बखतका सामान्य कागजात बुझबुझारथमा, सामान्य ढिलाइ हुँदा उनले कयौंपटक सदरमुकाममा तारिख धाउनुप¥यो ।

एकपटक, तारिख जाँदै गर्दा बाटोमा संयोगले एक अपरिचितसँग उनको दुई/चार घण्टाको सहयात्रा भयो । उनले आफ्नो वाध्यता सुनाए । अपरिचितले बडो गम्भीर हुँदै निष्ठा र सत्यले एकदिन जिती छाड्ने बताए । छुट्ने बेलामा अपरिचितसँग परिचय मागे, ‘तीनपाटनको फलाना, आफ्नो फलानो नाता पर्ने’ भन्दै अपरिचित छुट्टिए । जुन घर परिवारको उनले कुरा गरे, उनको पनि निकट नाता प¥थ्यो ।
उनले गम खाएर सोचे । अनुमान गरे । ‘हँ ! यी त ईश्वरी दाहाल पो हुन !’ ईश्वरी दाहाल कम्युनिष्ट पार्टीका भूमिगत नेता थिए । ‘असारे काका’ उपनामका उनले सिन्धुली, मध्यपहाडी तथा तराई भेगमा निकै राम्रोसँग संगठन विस्तार गरेका थिए ।

फेरि बोलाउँछु भन्दै वरपर नजर डुलाउँदा मोहनबहादुरले ईश्वरीलाई देखेनन् । सिन्धुली सदरमुकाम नजिक आएपछि उनी कति बेला, कुन बाटो, कहाँ पुगिसकेका थिए पत्तै भएन । त्यसपछि मोहनबहादुरले कुनै खास सन्दर्भमा ईश्वरीलाई देखे, भेटे होलान, त्यस्तो सम्झना छैन तर कुराकानी भने भएको छैन । त्यस यात्राक्रममा ईश्वरीले आफूलाई जे भने, त्यही आदर्शलाई जोगाई राख्न सकेकोमा ईश्वरीप्रति उत्कट सम्मान व्यक्त गर्छन ।

‘निष्ठा र सत्यले जिती छाड्ने’ ईश्वरीको दृढता उनको जीवनमा सधंै लागू भयो । पञ्चायतले उनको ‘कसुर’ प्रमाणित गर्न सकेन । एक वर्गसचेत मेघबहादुर आजको उमेरमा पनि सफल कृषिकर्ममा छन् । आफैं व्यावसायिक पशुपालन गर्छन, कृषि गर्छन र गाउँका एक सामाजिक अगुवा समेत हुन । हरेकको दुःख निवारणमा उनी सक्रिय सहभागी हुन्छन ।

‘सत्यको जीत हुन्छ र सत्यले आत्मविश्वास पैदा गर्छ,’ ईश्वरी दाहाल समेतको प्रेरणाले उनले आफ्नो र सबैको जीवन प्राथमिकतालाई यही रूपमा समीक्षा गरेका छन् । उनको लोभलाग्दो सामाजिक व्यक्तित्व देखेर एमालेले उनलाई ०५४ सालमा स्थानीय तहमा निर्वाचन लड्न अनुरोध गरेको थियो, राजनीतिमा निष्ठाका रङ्गहरू बदलिइ सकेको ठानेका उनले त्यसलाई अस्वीकार गरिदिए ।

आजको राजनीति त झन धन्दामा बदलिइ सकेको उनको ठम्याइ छ । जब विकास जनआवश्यकता भन्दा स्रोत दुरुपयोगको नियत बनेर आउँछ, त्यसले देशलाई कुनै हालतमा स्वनिर्भर बनाउने छैन भन्ने उनको प्रष्ट दृष्टिकोण छ ।

आफू वडा सदस्य हुँदा खारखोलाबाट उनको गाउँ भुकुनेसम्म करिब तीन किलोमिटर ढुंगा बिछ्याएर कुलो ल्याउँदा सरकारी रकम मात्र दुई हजार खर्च गरेको उनी स्मरण गर्छन । जनश्रमदानबाट कुलो, बाटो, विद्यालय निर्माण भएका थुपै्र सकारात्मक कथा सुनाउँछन् ।
जनअपनत्वको, जनआवश्यकताको, जनश्रमदानको, सत्यको र निष्ठाको मौलिक विकासले मात्र राष्ट्रिय स्वाधीन अर्थतन्त्र निर्माण हुने उनको निष्कर्ष छ । भन्छन– ‘आजका मानिसले ईश्वरी जस्ताको त्यागबाट जीवन दर्शन सिकुन ।’


क्याटेगोरी : जनमञ्च, समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट