Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

‘र्‍यापिड एक्शन फोर्स’ को शैलीमा मिटरब्याजीमाथि कारबाही गरिनेछ : प्रधानमन्त्री


काठमाडौं, १८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितहरूको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको बताएका छन् ।

शनिबार बिहान मिटरब्याज पीडितसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री प्रचण्डले सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजलाई सधैंका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको बताए ।

यसको दीर्घकालीन समाधानका लागि विद्यमान कानुन अपर्याप्त भएको भन्दै उनले कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको पनि जानकारी दिए । यसका साथै पीडितका समस्या समाधान गर्न न्यायिक अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठनको प्रक्रियासमेत अघि बढेको उनले बताए ।

“मिटरब्याजी समस्यालाई लिएर मन्त्रिपरिषद् बैठकबाट नै एउटा उच्चस्तरीय आयोग बनाई तत्काल फिल्डमा गएर कारबाही गर्नसक्ने, न्यायिक अधिकारसमेत प्रयोग गर्नसक्ने आयोग बनाइनेछ । त्यो प्रक्रिया अघि बढिसकेको छ ।” उनले भने, “यसअघि जस्तो आयोग बन्ने, प्रतिवेदन बुझाउने र त्यो थन्किने जस्तो होइन, यो आयोग ‘र्‍यापिड एक्शन फोर्स’ जस्तो गरेर जाओस्, त्यसले मान्छेलाई बोलाउने, पूर्जी काट्ने र कारबाही गर्ने खालको होस् भनेर निर्देशन दिएको छु ।”

मिटरब्याज पीडितको समस्याबारे आफू जानकार रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले पार्टी अध्यक्षको हैसियतमा रहेको बेला समेत मिटरब्याजीहरूमाथि कारबाहीका लागि पहल गरेको बताए

उनले भने, ‘‘म नेकपाको अध्यक्ष हुँदा मिटरब्याज पीडितको समस्या विस्तृतमा सुनेको थिएँ । सुरक्षाका तीनवटै सुरक्षा अङ्ग र गृहमन्त्रीलाई बोलाएर मिटरब्जाजीको समस्या तुरुन्तै समाधान गर्न आग्रह पनि गरेको थिएँ । केही मान्छे त समातिए । त्यो बेला मिटरब्याजीहरू भागाभाग पनि भए । तर यसको दीगो समाधान भने भएन । त्यो बेला अकै प्रधानमन्त्री हुनुहुन्थ्यो । यो पटक म प्रधामन्त्री छु । यसको दिगो समाधानमा मेरो ध्यान छ ।’’

अहिले पनि यो समस्या पूर्णरूपमा समाधान गर्न नसके समस्याले गम्भीर रूप लिने उहाँको भनाइ छ । ‘‘मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न सकियोस्, उनीहरूमाथि मुद्दा चलाउन सकियोस् भनेर ऐन बनाउने प्रक्रिया अघि बढाइएको छ ।” प्रधानमन्त्रीले भने, “अहिले पनि यो समस्या समाधान नभए मलाई डर लागेको छ, यो कहिल्यै समाधान हुन्न त्यसैले यो समस्याको दीर्घकालीन समाधान अहिल्यै गर्नुपर्छ ।’’

मिटरब्याज पीडितले मार्च गर्दै राजधानी आएकोमा समेत प्रधानमन्त्रीले धन्यवाद दिए । “तपाईंहरू यसरी पैदल हिँडेर काठमाडौं आउनुभयो । तपाईंहरूको समस्या राष्ट्रियरूपमा सुनियो । अहिले पनि हाम्रो समाजमा यस्तो शोषण बाँकी नै छ भन्ने कुरा राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रियरूपमा समेत सबैले थाहा पाए । तपाईंहरूलाई धन्यवाद छ ।” उनले भने “मैले जिल्लाबाट हिँडेदेखि नै तपाईंहरूको बारेमा जानकारी लिइरहेको छु । तपाईंहरूलाई कहीँ कतै अप्ठ्यारो नपर्न दिन गृहलाई निर्देशन पनि दिएको छु ।”

अहिले आफ्नै वर्ग र जनतासँग कुराकानी गरिरहेको अनुभूति भइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले आफूले आश्वासन मात्रै नदिइरहेकोमा जोड दिए । “मलाई तपाईंहरूसँग कुरा गर्दा आफ्नै वर्गसँग कुराकानी गरिरहेको अनुभूति भइरहेको छ । मैले आश्वासन मात्रै दिइरहेको छैन । यो समस्या हल हुन्छ । तपाईंहरू आश्वस्त भएर मात्र घर फर्किनुहोला ।”

प्रधानमन्त्रीसँग भेटका क्रममा पीडितहरूले उच्चस्तरीय आयोग गठन, कानुन निर्माण तथा पक्राउ पूर्जी जारी भएका र घरबार जफत भएका पीडितमाथि न्याय गर्न माग गरेका थिए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट