Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सौराहामा बाँधेर राखेको हात्तीको सुँड काटियो


काठमाडौं, २२ चैत । सौराहामा हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड काटिएको छ । मंगलबार राति ४५ वर्षे हात्ती चञ्चलकलीको सुँड अज्ञात समूहले काटिदिएको हो ।

दीपेन्द्र खतिवडाको नाममा रहेको उक्त हात्ती युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाबाट सफारीका लागि प्रयोग हुँदै आएको छ । संस्थाका अध्यक्ष ऋषि तिवारीका अनुसार सुँड काटिएपछि हात्ती पीडाले कराएको थियो । हात्ती कराएपछि माउते थाहा पाएर उठेर सरोकारवालालाई खबर गरेका थिए ।

घटनाबारे जानकारी दिँदै अध्यक्ष तिवारीले भने, ‘राति हात्तीसारमै बाँधेर राखेको हात्तीको सुँड काटिदिएछन् । हात्तीले पीडाले छटपटिएपछि माउतेले थाहा पाएर खबर गरे । राष्ट्रिय प्रकृति संरक्षण कोषका डाक्टरहरू आएर उपचार गर्नुभयो ।’

अहिले हात्तीको स्वास्थ्य अवस्था ठीकै रहेको र खाना खाइरहेको तिवारीले बताए । ‘खाना त खाइरहेको छ । तर सुँडको अगाडिको भाग नै काटिएकाले पानी खान भने समस्या भएको छ । डाक्टरहरूले पाइपबाट पानी दिने कि भनेर सल्लाह गर्नु भएको छ ।’

अध्यक्ष तिवारीले प्रहरीले कुकुरको सहयोगमा घटनाको अनुसन्धान गरिरहेको पनि जानकारी दिए । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका ३५ वटा हात्ती निकुञ्जमा सफारीका लागि प्रयोग हुँदै आएका छन् ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट