Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चौथो राष्ट्रिय पुरुष हक्की : सेमिफाइनलमा पुलिस, आर्मी, सुदूरपश्चिम र मधेस प्रदेश


विराटनगर, २५ चैत । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा विभागीय टोली आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश पुगेका छन् ।

शनिबार लिग चरणमा सबै समिकरण पूरा हुँदा अंक तालिकाको आधारमा समूह ‘ए’ तर्फ त्रिभुवन आर्मी क्लब पहिलो र दोस्रो स्थानमा नेपाल पुलिस छन् । समूह ‘बि’ तर्फ पहिलो सुदूरपश्चिम प्रदेश र दोस्रो मधेस प्रदेश रहेका छन् ।

प्रतियोगिताको आइतबार हुने सेमिफाइनलको पहिलो खेल आर्मी र मधेस प्रदेश तथा दोस्रो खेल सुदूरपश्चिम र पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगरको सहिद रंगशालामा भइरहेको प्रतियोगिताअन्तर्गत शनिबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ५–३ गोलमा पराजित गरेको छ । सुदूरपश्चिमका दीपकराज जोशीले २ गोल, धिरेन्द्रबहादुर , शेरबहादुर चन्द र महेश नेपालीले समान १–१ गोल गरेका थिए । मधेस प्रदेशका विशला क्षेत्री, रुपक दाहाल र रुपेश राईले समान १–१ गोल गरेका थिए । खेलको ‘म्यान अफ दी म्याच’ सुदूरपश्चिमका महेश नेपाली भए ।

त्यस्तै, अर्को खेलमा गण्डकी र कर्णाली प्रदेशले २–२ गोलको बराबरी खेलेर अंक बाँड्दै लिग चरणबाट बहिरिएका छन् । गण्डकीका संगम जेटी र असिम बाहेकले गोल गरे । कर्णालीका लागि जीवन राउतले २ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच कर्णालीका जीवन राउत भए ।
शुक्रबार राति भएको खेलमा साबिक विजेता त्रिभुवन आर्मीले पूर्व विजेता गण्डकी प्रदेशलाई ८–१ को फराकिलो गोल संख्यामा पराजित गरेको छ । आर्मीका रोमन रानाले ३ गोल, काशीराजले २ गोल, देवसिंह धामी र प्रदीप राजवंशीले समान १–१ गोल गरे । गण्डकीका असिम बाहेकले एक गोल फर्काए । खेलको म्यान अफ द म्याच आर्मीका नितिश न्यौपाने भए ।

नेपालमा पहिलो पटक रात्रीकालीन हक्की खेल :

नेपालमा पहिलो पटक रात्रीकालीन हक्की खेल शुक्रबार राति भएको छ । प्रतियोगिताका संयोजक तथा पूर्व अन्र्तराष्ट्रिय खेलाडी रञ्जन थापाका अनुसार हक्कीलाई रात्रीकालीन बनाउन सकिने आधार तयार गर्ने क्रममा पहिलो पटक विराटनगरमा खेल सम्पन्न भएको छ ।

नेपाली टोलीले विदेशमा बाहेक स्वदेशमा पहिलो पटक हक्की खेलेका हुन् । यस खेलबाट यहाँ पनि रात्रीकालीन खेल सम्भव भएको पुष्टि भएको छ । हक्कीलाई संरक्षण गर्ने क्रममा प्रतियोगिता आयोजना गरेरै पहिलो पटक प्रयास गरेकोमा सफल भएका छौं, थापाले भने ।

उनले अगामी दिनमा यसरी रात्रीकालीन खेल खेलाउन सके खेलप्रति अरुलाई आकर्षित बनाउन सकिने मात्र नभई यसमा खेलप्रेमीलाई समेत आकर्षण गराउन सकिने बताए । यसले फुटबल, क्रिकेटसँगै मैदानमा हक्कीलाई समेत राति खेलाउन सक्ने पक्का आधार तयार भएको थापाले बताए ।


क्याटेगोरी : खेलकुद, समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट