Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाण्डौं, ३ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौ जनाविरुद्ध दुई अर्ब ६९ करोड ४० लाख रुपैयाँ बिगो माग गरेर भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कार्यकारी निर्देशक पौडेलसहित नौ जनाले सेक्युरिटी प्रिन्टिङ प्रेसका उपकरण खरिद गर्दा राज्यकोषमा करोडौँ रुपैयाँ नोक्सानी पुर्‍याएको आरोप लगाउँदै अख्तियारले विशेष अदालत काठमाण्डौमा मुद्दा दर्ता गरेको हो । अख्तियारले कार्यकारी निर्देशक विकल पौडेलमाथि ६९ करोड आठ लाख रुपैयाँको बिगो मागदाबी गरेको छ ।

यस्तै सुरक्षण मुद्रण केन्द्रकै मेकानिकल इन्जिनियर नवीनकुमार पोखरेलविरुद्ध ४९ करोड ४६ लाख, सहायक निर्देशक रमेशप्रसाद पोखरेलविरुद्ध २० करोड ३८ लाख, लेखा अधिकृतबाट सेवा निवृत रामबहादुर बुढाविरुद्ध १९ करोड ८८ लाख, शाखा अधिकृत मनिकमान महर्जनविरुद्ध तीन करोड ४४ लाख र शाखा अधिकृत शिरीष उपाध्यायविरुद्ध ४० करोड एक लाख रुपैयाँ बिगो मागदाबी गरेर मुद्दा दर्ता भएको छ ।

यस्तै इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालीका प्रबन्ध निर्देशक रोहितमान प्रधानविरुद्ध २३ करोड ४४ लाख, मेपटेक विल्डिङ सर्भिसेस प्रालीका निर्देशक भुवन महर्जनविरुद्ध ४३ करोड ५७ लाख र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौँविरुद्ध आठ लाख ६९ हजार रुपैयाँ बिगो माग गरेर मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

आरोपी सबैले बदनीयतपूर्वक मेलेमतो गरी कमिसन लिएर ठेक्का लिएको र गुणस्तरहीन जेनेरेटर खरिद गरेको तथा आवश्यकता नै नरहेको फ्युल ट्याङ्क खरिद गरेको अख्तियारले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट