Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चर्चामा प्रधानमन्त्री प्रचण्डको अपेक्षित भारत भ्रमणको मिति तय गर्न गरिने कूटनीतिक पहलको उद्देश्य


काठमाडौं । प्रधानमन्त्रीको अपेक्षित भारत भ्रमणसम्बन्धी कूटनीतिक पहलको विषयमा कूटनीतिक पर्यवेक्षक क्षेत्रहरूमा चर्चा चल्न थालेको छ ।

प्रधानमन्त्री प्रचण्डको अपेक्षित भारत भ्रमणको मिति तय बारे हालै मात्र सरकारको प्रवक्ताको हैसियतमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिति तय भइनसकेको बताएकी छिन् ।

सञ्चार माध्यमहरूमा आएको जानकारी अनुसार बैशाख महिनाको तेस्रो साता प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुने छ ।

भारतको सत्ताधारी राजनीतिक दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले हालै सम्पन्न गरेको नेपाल भ्रमण प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति तय गर्ने उद्देश्यले भएको चर्चा समाचार संस्थानहरूमा भइरहेका बेला सरकारको तर्फबाट मिति तय भइनसकेको कुरो सार्वजनिक हुनुको पछाडि उचित मितिको खोजी भइरहेको र त्यसका लागि कूटनीतिक पहल थालिएको बुझिन सक्ने कूटनीतिक वृतमा चर्चा रहेको छ ।

प्रचण्डको भारत भ्रमणको मितिलाई दुई पक्षीय र बहुपक्षीय आर्थिक विषयहरूलाई प्राथमिकतामा राखेर तय गर्नुपर्ने जिम्मेवारी कूटनीतिक संयन्त्रको हुनुपर्ने कूटनीतिक पर्यवेक्षकहरूको भनाइ रहेको छ ।

दक्षिण एसियाली देशहरू मध्ये कतिपय देशहरू आर्थिकरूपमा टाटपल्टाइको अवस्थामा पुगेको स्थिति एकतर्फ छ भने अर्कोतर्फ यही समूहमा उदीयमान अर्थतन्त्रको रूपमा उदाइरहेको भारत पनि छ ।

नेपालको आर्थिक कारोबारको कुल हिस्साको करिब दुई तिहाइ भारतसँग रहेको छ । नेपालको आर्थिक अवस्थाका केही प्रमुख सूचकहरू प्रधानमन्त्री प्रचण्ड भएयता सुधार भएको सरकारी आँकडाहरूले बताइरहेका छन् । अन्यकुरा भन्दा पनि विदेशी मुद्रा सञ्चितिको अवस्था करिब एक वर्षसम्म पुग्न सकिने भएको हालै आँकडा सार्वजनिक गरिएको थियो ।

कोभिड वैश्विक महामारीका बेला आयात र पर्यटनमा निर्भर श्रीलंकाली अर्थतन्त्र टाटपल्टेर त्यहाँका निर्वाचित राष्ट्रपतिलाई जनआक्रोशका कारण पलायन गर्नुपरेको थियो । दक्षिण एसियाकै परमाणु शक्तिसम्पन्न देश पाकिस्तानको आर्थिक अवस्था करिब करिब श्रीलंकाकै हाराहारीमा पुग्न लागेको वा पुगेको बहस अर्थविज्ञहरू माझ भइरहेको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्षता अहिले नेपालले गरिरहेको छ ।क्षेत्रीय सहयोग संगठन स्थापना गर्ने विषयको छलफलको ७५ वर्ष भएपनि सार्कको विधिवत् स्थापनाकै ३८ वर्ष भइरहेपनि यसका अपेक्षाहरू पूरा हुनु त परको कुरो नियमितरूपमा गरिने भनिएको शिखर सम्मेलन पनि भारत र पाकिस्तानबीचका दुई पक्षीय तनावले पूरा हुन सकेका छैनन् ।

चक्रीय विधिका आधारमा सन् २०१४को नोभेम्बर २६–२७ सम्पन्न काठमाडौं सार्क शिखर सम्मेलन पछि पाकिस्तानले त्यसको आयोजना गर्नुपर्ने थियो । भारत र पाकिस्तानबीचको तनावले ढिला हुने गरेको सार्क शिखर सम्मेलनको १९औँ सन् २०१६को नोभेम्बर १५–१६मा गरिने तय भएपनि खारेज गरियो । भारत पाकिस्तानको तनावले निश्चित नभएको शिखर सम्मेलन पाकिस्तानमा सन् २०२३ वा २०२४मा हुन सक्ने अपेक्षा गरिएको छ ।

भारत र पाकिस्तानबीचको सम्बन्ध सुधारका लागि पहल भइआएका छन् । मध्यपूर्वका कतार साउदी अरबका कूटनीतिक पहलबाट भारत र पाकिस्तानबीचको सम्बन्धमा सुधारको पहल गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले बेलाबखत सार्वजनिक गर्दै आएका छन् ।

रुसले युक्रेनमा आक्रमण गरेपछि पाकिस्तानले आफ्नो परम्परागत अमेरिका पक्षीय झुकावमा परिवर्तन ल्याएको देखियो ।

यसैबीच चीनको मध्यस्थतामा मध्यपूर्वमा शान्ति पहलको परिणाम साउदी र इरानबीचको सम्बन्ध स्थापनाबाट भएबाट युद्धसँगै शान्तिको पहल पनि भइरहेको देखिन्छ ।

हालै संघाई सहयोग संगठनको बैठकमा पाकिस्तानका विदेशमन्त्री भारतको भ्रमण गर्ने समाचार सार्वजनिक भएको छ ।

अगामी मे ४ र ५ मा भारतको गोवामा संघाई सहयोग संगठनका सदस्य देशका (एससीओ)का विदेशमन्त्रीहरूको बैठक हुने भएको छ ।

बैशाखको तेस्रो साता भनिएको प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई यो आर्थिक मञ्चसँग मेल हुने गरी गरिए महत्वपूर्ण हुने कतिपयको भनाइ रहेको छ ।

यसअघि सुदूरपश्चिम प्रदेशमा गत शनिबार सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिँदै भाजपा विदेश विभाग प्रमुख चौथाइवालाले राजधानीको भ्रमण गरी फर्केका बेला यस्ता विषयमा सूचना आदानप्रदान नभएको भन्न नसकिने कूटनीतिज्ञहरूको भनाइ रहेको छ ।

अर्कोतर्फ बाह्र वर्षमा पहिलो पटक कुनै पाकिस्तानी विदेशमन्त्रीको रूपमा बिलावल भुट्टो जरदारीको भारत भ्रमणबारे सार्वजनिक भएको जानकारी चौथाइवालालाई नभएको पत्याउन गाह्रो छ ।

यसैगरी ढिलो गरी नै सही नेपाली कूटनीतिज्ञहरूलाई पनि भारत पाकिस्तानबीचको सम्बन्धमा भइरहेको सुधारको बारेमा जानकारी नेपाली पक्षलाई नभएको कुरो पनि पत्याउन गाह्रो रहेको छ ।

त्यसैले भारतको गोवामा आयोजना हुन लागेको संघाई सहयोग संगठनको बैठकमा सहभागी हुन पाकिस्तानी विदेशमन्त्री भुट्टो जरदारी भारत आउन लागेको विषय र नेपालका प्रधानमन्त्री प्रचण्डको अपेक्षित भारत भ्रमणको कूटनीतिक मेलको सम्बन्ध रहेको छ ।

नेपालको आवश्यकता पनि क्षेत्रीय सहयोग संगठन सार्कको अवरोध हटाउनुपर्ने जिम्मेवारी सार्कको अध्यक्षका नाताले बढी छ । हुनत दुई पक्षीय सम्बन्धमा सार्कको तेस्रो पक्षले पहल गर्न नहुने विषय पनि छ ।

तर पनि काठमाडौंमा सम्पन्न १८औा शिखर सम्मेलनमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफको हस्तमिलान गराइदिने कार्य गरेजस्तो पहल त गर्नै सकिने विषय भयो । कूटनीतिकरूपमा सम्बन्ध सुधारको पहल गर्ने जिम्मेवारी सार्कको अध्यक्षको नाताले नेपालको हुने नै भयो । यसको लागि कूटनीतिक पहलका लागि यस्ता अवसर उचित हुने गरेको छ । बहुपक्षीय मञ्चमा दुई पक्षीय सम्बन्धका अवसरहरू निर्माण हुने गर्छन् ।

नेपाल र समग्र सार्कका सदस्य देशहरूमा अर्थतन्त्रका समस्याहरू समाधान गर्नुपर्ने आवश्यकता छ ।अर्थतन्त्रका समस्याहरूको समाधान उत्पादनसँग जोडिएका गतिविधिको खोजी र भएकाहरूको विस्तार गर्नु आवश्यक छ । नेपाललाई भारत भ्रमणबाट यस्तै पक्षहरूलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको छ ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज बलोचले बिहीबार एससीओमा पाकिस्तानी विदेशमन्त्री भुट्टो जर्दारीको सहभागिता हुने जानकारी सार्वजनिक गरेबाट दुई देशबीचको सम्बन्धमा सुधार हुन खोजेको वा भएको यो संकेत हो ।

सन् २०२३को सुरुवातमा भारतले पाकिस्तानलाई एससीओमा सहभागी हुन पाकिस्तानी विदेश मन्त्रीलाई निम्तो गर्ने समाचार सार्वजनिक भएको थियो ।

यसअघि सन् २०११को जुलाईमा तत्कालीन पाकिस्तानी विदेशमन्त्री हिना रब्बानी खार भारतको भ्रमण गरेकी थिइन् । त्यसयता कुनै पनि पाकिस्तानी विदेशमन्त्रीले भारतको भ्रमण गरेको थिएन् ।

सन् २०१४यता सार्कसम्मेलन पनि दुई देशबीचको तनावले नभएको पनि देखिएकै विषय हो ।

भारतमा हुने बैठकमा पाकिस्तानी विदेशमन्त्रीको सहभागिताको घोषणा गर्दै विदेश मन्त्रालयकी प्रवक्ताले भनिन् , “बैठकमा मन्त्रीको सहभागिताले संघाई सहयोग संगठनको बडापत्र र प्रक्रियाहरूप्रति पाकिस्तानको प्रतिबद्धता र पाकिस्तानले आफ्नो विदेश नीतिको प्राथमिकताको क्षेत्रलाई महत्व दिएको यसबाट प्रतिबिम्बित हुन्छ ।“
विदेशमन्त्री एस जयशंकरको निमन्त्रणा इस्लामावादस्थित भारतीय उच्चायोगमार्फत पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीलाई एससीओ विदेश मन्त्रीहरूको बैठकमा मे महिनाको पहिलो साता गोवा आउनको लागि पठाइएको थियो।

भारत र पाकिस्तान एससीओका सदस्य हुन् जसमा चीन, रुस, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्वेकिस्तान गरी आठ सदस्य छन्।

यसरी एससीओका विदेशमन्त्रीहरूको बैठक बैशाखको तेस्रो साता २१ र २२ गते परेको हो । तेस्रो साता प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई मेल गरी हेर्दा र चौथाइवालाको भ्रमण पछि सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले भारतको मिति तय नभएको सार्वजनिक अभिव्यक्ति पछिको अन्तर्निहित कूटनीतिक पहल दुई पक्षीय तथा क्षेत्रीय आर्थिक गतिविधिलाई धक्का दिने विषयहरूमा केन्द्रित रहेको छ भने यो प्रचण्ड सरकारको लागि सान्दर्भिक पहल हुनेछ । देशलाई राजनीतिक नारामा उचाल्नु भन्दा पनि प्रचण्ड सरकारको जिम्मेवारी आर्थिक नारालाई व्यवहारिक गतिविधिमा मूर्तरूप दिनुपर्ने बोध आम जनताको चाहनासँगको मेल हुन्छ ।


क्याटेगोरी : अर्थ, राजनीति, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट