Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सगरमाथा आधार शिविरमा आरोहीको ओइरो


काठमाडौं । वसन्त ऋतुमा आरोहणका लागि यतिखेर सगरमाथाको आधार शिविरिमा उल्लेख्य सङ्ख्यामा आरोही पुगेका छन् । आरोहणमा गएका आरोही र उनीहरूका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको छ । आधार शिविरमाथि दोस्रो शिविरसम्म आरोही पुगेका छन् । आरोहीको वास व्यवस्थापनका लागि टाँगिएका रङ्गीचङ्गी पाटले आधार शिविरमा रौनक छाएको छ ।

पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार यतिखेर ३० भन्दा बढी आरोही समूहका झन्डै तीन सय आरोही सगरमाथा आधार शिविर र दोस्रो आधार शिविरमा पुगेका छन् । उनीहरू सगरमाथाको चुचुरोमा पुग्न उपयुक्त मौसमको प्रतिक्षामा छन् । अहिले विभागबाट आरोहीले आरोहण अनुमति धमाधम लिइरहेका छन् । केही आरोही बीचबाटोमै छन् ।

विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले सर्वोच्च शिखर सगमाथा आरोहणका लागि अहिलेसम्म ४१ आरोही समूहका चार सय ५४ आरोहीले अनुमति लिएको जानकारी दिए । उनले अझै पनि केही कम्पनी अनुमति लिने क्रममा रहेको बताउनुभयो । यो याममा सगरमाथा आरोहणका लागि उत्साहवर्धकरूपमा धमाधम आरोही आइरहेका उनले उल्लेख गरे ।

सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले दोस्रो शिविरसम्म बाटो बनाइसकेका छन् । दोस्रो शिविरभन्दा माथि पर्वतारोहण सञ्चालक सङ्घ (एक्सपीडिसन अपरेटर्स एशोसिएसन) ले बाटो बनाउने कामलाई तीव्रता दिएको छ ।

सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले बाटो बनाउने जिम्मा पाएको छ भने दोस्रो शिविरिभन्दा माथि सगरमाथाको चुचुरोसम्म पर्वतारोहण सञ्चालक सङ्घले बाटो बनाउँदै आएको छ । यो याममा इमाजिन नेपाल ट्रेक एन्ड एक्सिपिडिसन कम्पनीले सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको हो ।

एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाले सगरमाथा आरोहणमा निस्केका स्वदेशी तथा विदेशी आरोही र पदयात्रामा गएका पर्यटकले यतिखेर खुम्बु क्षेत्र भरिभराउ भएको बताए ।

सन् २०२३ को वसन्त ऋतुको आरोहण पनि उत्साहवर्धक हुने अनुमान गरिएको छ । सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले वसन्त ऋतुको सगरमाथा आरोहण राम्रो हुने सङ्केत देखिएको बताए ।

चौथो आधार शिविर नजिक बाटो पुग्यो

वसन्त ऋतुको सगरमाथा आरोहणका लागि चुचुरोसम्मको बाटो खुलाउने क्रममा चौथो आधार शिविर नजिकसम्म खुलिसकेको छ । इमाजिन नेपालका कार्यकारी निर्देशक दावा शेर्पाका अनुसार अहिले सगरमाथाको चौथो शिविरसम्म बाटो बनिसकेको छ ।

शुक्रवारको हुरीसहितको वर्षाले सगरमाथा क्षेत्रमा भारी हिमपात भएकाले चुचुरो पुग्ने बाटो बनाउन कठिन भइरहेको छ । प्रतिकूल मौसमका कारण बाटो बनाउने काममा खटिएका आइसफल डाक्टर तीन दिनदेखि आराम गरिरहेका निर्देशक शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सगरमाथा क्षेत्रमा मौसम राम्रो छैन, त्यसैले बाटो बनाउनेहरू आराम गर्दैछन् । अप्रिल २४ सम्म सगरमाथाको चौथो शिविरमाथि चुचुरो नजिक बाटो बनाइसक्ने लक्ष्य थियो तर मौसमले केही विलम्ब भएको छ, मौसमले साथ दिएको एकरदुई दिनमै काम पुनः सुरु हुन्छ ।’

सगरमाथा आरोहणको यो याममा ‘इन्टरनेशनल माउन्टेन गाइड’ दावा ग्याल्जेन शेर्पाको नेतृत्वमा आठ दक्ष शेर्पा सगरमाथाको चुचुरोसम्म बटो बनाउन खटिएका छन् । मौसमले साथ दिए आरोहण उत्साहजनक हुने शेर्पाको भनाइ छ । तथापि यो याममा सगरमाथाको दोस्रो शिविरमाथितिर भर्खरै हिमपहिरोमा परी तीन जना बेपत्ता भएको घटनाले आरोहणका लागि बाटो खुलाउन केही ढिलो भएको उनको भनाइ छ ।

मे १० तारिखभित्र सगरमाथा आरोहण सुरु हुने

मौसमले साथ दिएमा आउँदो मे १० तारिखसम्म सगरमाथाको शिखरसम्म बाटो खुलाएर आरोहण सुरु भइसक्ने सङ्घको योजना छ । आइसफल डाक्टरले सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ । कार्यकारी निर्देशक शेर्पाका अनुसार अहिले सगरमाथा आरोहणमा निस्केका आरोही आधार शिविर र दोस्रो शिविरमा पुगेका छन् । उनीहरू आरोहणको व्यवस्थापकीय कार्यमा सक्रिय भएका हुन् ।

एसपीसीसीले सगरमाथा, ल्होत्से र नुप्त्से हिमालको बाटो बनाउने जिम्मा पाएको छ । त्यसभन्दा माथि सङ्घले हरेक वर्ष फरक–फरक कम्पनीलाई बाटो बनाउने जिम्मा दिने गरेको छ । विसं २०७५ देखि पर्यटन विभागको पर्वतारोहण शाखासँग समन्वय गरेर सगरमाथाको दोस्रो शिविरसम्म एसपीसीसीले बाटो बनाउँदै आएको छ । चुचुरोसम्म आइसफल डाक्टर शेर्पा गाइडले धमाधम बाटो बनाइरहेका छन् ।

नेपालसहित ५८ देशका आरोही सगरमाथा आरोहणमा

पर्यटन विभागको विवरणमा अहिलेसम्म सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ७८ देशका नौ सय बढी आरोही आएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्रै ५८ देशका नागरिक नेपाल आएका छन् । सबैभन्दा बढी चीनबाट ८५, अमेरिकाबाट ७४, भारतबाट ३३, हङ्गेरीबाट ३३, क्यानाडाका १९, रुसका १८, बेलायतका १५ र नेपालका १६ आरोहीले अनुमति लिएका हुन् ।

सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगेको छ । त्यसयता सगरमाथाको आरोहण आकर्षण बढ्दो छ । विभिन्न देशबाट उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् । सर्वोच्च शिखर सगरमाथासहित विश्वका आठ हजार मिटर अग्ला आठ हिमाल नेपालमा छन् ।

सगरमाथा आरोहणको इतिहासमा अहिलेसम्म झन्डै सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको साहसिक विजययात्रा पूरा गरिसकेका छन् भने सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीले नयाँ–नयाँ कीर्तिमानसमेत थप्दै आएका छन् । कामीरिता शेर्पाले २६ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका छन् । उनी वसन्त ऋतुको यो याममा आफ्नै कीर्तिमान तोड्न सगरमाथा आरोहणमा निस्किएका छन् ।

पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर–२०२०’ का अनुसार अहिलेसम्म छ हजार पाँच सय सात आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । सन् २०२१ र २०२२ को सङ्ख्या जोड्दा आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । तथ्याङ्कअनुसार अहिलेसम्म तीन सयभन्दा बढी आरोहीले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका छन् ।–रासस

 


क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट