Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मालपोत कार्यालय खोटाङमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा


खोटाङ, १२ वैशाख । मालपोत कार्यालय खोटाङमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । लामो समयदेखि कार्यालय प्रमुख रिक्त हुँदा दैनिक काम समेत प्रभावित भएर सेवाग्राहीले सास्ती भोग्नु परेको हो ।

प्रमुख नहुँदा हाल मालपोतमा राजीनामा, दृष्टि बन्दक, बकस पत्र, लगायतका सामान्य कामहरू मात्र भइरहेका छन् । हाकिम नहुँदा नामसारी लगायतका महत्त्वपूर्ण काम रोकिएको छ । जग्गा नामसारी गर्न टाढाबाट आएका सेवाग्राहीहरू करिब १० दिनदेखि दिक्तेलमा कार्यालय प्रमुख कुरेर बस्न बाध्य भएका छन् ।

दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका–९ पाथेका पुरानो घर भएका मनि कुमार राई हाल झापामा बस्दै आएका छन् । बुवाको मृत्यु पश्चात् गाउँको जग्गा आमाको नाममा नामसारी गर्न २ गते जिल्ला आएका राई मालपोतमा कार्यालय प्रमुख नहुँदा मर्कामा परेको बताउँछन् ।

यस्तै, अर्का सेवाग्राही हाल जिल्ला बाहिर बस्दै आएका निमातेम्बा शेर्पा पनि खोटाङमा रहेको आमाको नामको जग्गा आफ्नो नाममा नामसारी गर्न वैशाख ३ गते आएको बताउँछन् । तर कार्यालय प्रमुख नहुँदा सास्ती खेप्नु परेको उनको गुनासो छ । दैनिक सेवाग्राहीको भिड लाग्ने मालपोत कार्यालय लामो समयसम्म प्रमुख विहीन हुनु राज्यको ठुलो लापरबाही भएको शेर्पा बताउँछन् ।

निवर्तमान कार्यालय प्रमुख धर्मराज आचार्य गत चैत २९ गते सरुवा भएर खोटाङबाट बिदा भएका थिए । उनको ठाउँमा भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोजपुर जिल्ला मालपोत कार्यालय प्रमुखमा कार्यरत रबिन मगरलाई खोटाङ पठाएको पाइएको छ । मालपोत कार्यालय खोटाङमा नयाँ कार्यालय प्रमुख आउने भन्दै विभागले वैशाख ४ गते पत्रसमेत पठाएको छ । तर खोटाङ सरुवा हुनुभएका मगर हालसम्म कार्यालयमा उपस्थित भएका छैनन् ।

निमित्त कार्यालय प्रमुखको जिम्मा पाएका जगत श्रेष्ठले मालपोत कार्यालय खोटाङ सम्हाली रहेका छन् । तर विभागले निमित्त मात्रै दिएको पुरा अख्तियारी नदिएको कारण नामसारी, नाम संशोधन, अर्धन्यायिक लगायतका महत्त्वपूर्ण कामहरू गर्न नमिल्ने श्रेष्ठले बताए । निमित्तले अख्तियारी नपाउँदा र नयाँ कार्यालय प्रमुख नआउँदा दैनिक सेवाग्राहीहरू निराश हुँदै फर्किने गरेका छन् ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट