Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

हुम्लामा चार दिनयता हवाई सेवा अवरुद्ध


हुम्ला,२० वैशाख । हिमाली जिल्ला हुम्लामा गत चार दिनयता हवाई सेवा अवरुद्ध भएको छ। लगातार वर्षा र मौसम बिग्रेको कारण हवाई सेवा अवरुद्ध भएको हो।

नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले चार दिन लगातार हिमाली जिल्ला हुम्लाको हवाई सेवा अवरुद्ध हुँदै आएको बताए। चार दिनयता लगातार वर्षा भइरहेको र मौसममा कुनै सुधार नआएको कारण हवाई सेवा अवरुद्ध हुँदै आएको छ।

मौसम बिग्रिएको कारण आइतबारदेखि बुधबारसम्म कुनै उडान हुन सकेको छैन। नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलमा पर्ने हवाई मार्गको बाजुरा र हुम्ला जिल्लामा वर्षा भइरहेको छ। उनले यी चार दिनमा बिहानैबाट टावर सञ्चालन गर्ने काम मात्र भएको बताउँदै मौसममा कुनै सुधार आउने सम्भावना नदेखिएको जानकारी दिए।

हवाई सेवा अवरुद्ध भएपछि नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने डेढ सय भन्दा बढी यात्रु रोकिनु परेको छ। खराब मौसमको कारण उडान नभए पनि परीक्षा दिने विद्यार्थी र किरिया बसेका मानिस पनि रोकिनु परेको छ।

उडान नभएपछि सिमकोटमा दैनिक उपभोग्य सामग्रीको समेत अभाव देखिएको छ। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्नसमेत ढुवानी हुन पाएको छैन।


क्याटेगोरी : पर्यटन, समाचार, कर्णाली प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट