Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सर्लाहीको चन्द्रनगरमा एक वृद्ध अवस्थामा मृत फेला


सर्लाही, २२ वैशाख । सर्लाहीको चन्द्रनगरमा एक वृद्ध शंकास्पद अवस्थामा मृत फेला परेका छन्।

चन्द्रनगर गाउँपालिका–३ बड्कुर्वामा बिहीबार साँझ चन्द्रनगर ७ घर भएका ७२ वर्षीय पल्टु सिंहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। हृदयघातका कारण उनको मृत्यु भएको आशंका प्रहरीले गरेको छ। उनको साथमा ३१ हजार १ सय ३५ रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका डीएसपी कैलाश राईले जानकारी दिए।

आफन्तले प्रहरीलाई बताएअनुसार वृद्ध आफैँ साइकल चलाएर सर्लाहीकै हरिपुरमा रहेकी छोरीलाई भेट्न जाँदा घटना भएको हो। ‘साइकल चलाउँदै गर्दा उनलाई हृदयाघात भएको आशंका गरिएको छ’, डीएसपी राईले भने, ‘पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको खास कारण खुल्ला।’

प्रादेशिक अस्पताल मलंगवामा पोस्टमार्टमपछि वृद्धको शव आफन्तले लिएर गएका राईले जानकारी दिए। उनी छोरीलाई ३० हजार रुपैयाँ पुर्‍याउन भनी बिहीबार साँझ घरबाट निस्किएको आफन्तले बताएका छन्। मृतकको शरीरमा कुनै चोटपटक नदेखिएको प्रहरीको भनाइ छ। उनले चलाउने गरेको साइकल पनि घटनास्थलमै फेला परेको छ।

 


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट