Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

१६ वर्षीया चिनियाँ युवतीले सगरमाथा चढिन्


काठमाडौं । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले सफलता प्राप्त गरेकी छिन् । चिनियाँ युवती शुई चो युआनले यही जेठ १ गते सोमवार बिहान ५ बजेर ४२ मिनेटमा सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट आरोहण गरेकी हुन् ।

नेपाल बिग माउन्टेन ट्राभलले आज बुधवार पत्रकार सम्मेलन गरी चिनियाँ युवती शुई चो युआनले सगरमाथाको आरोहण गरेको जानकारी दिएको हो । नेपाल बिग माउन्टेन ट्राभलले उनको आरोहणका क्रममा समन्वय गरेको प्रबन्ध निर्देशक सुदर्शन नेपालले जानकारी दिए । उनी महिलामा अहिलेसम्म सम्भवतः सबैभन्दा कम उमेरको सगरमाथा आरोही रहेको बताइएको छ ।

शुई चो युआनले आफ्ना बुबा शुई चियाङ लेईले सन् २००७ मा सगरमाथाको उत्तरी मोहडाबाट आरोहण गरेको सुनाउँदै त्यहीँबाट आफूले आरोहण गर्ने प्रेरणा पाएको बताइन् ।

शुई चो युआनले आरोहणका क्रममा सुरुमा मौसम खराबीले केही चुनौतीको सामना गर्नुपरे पनि आरोहणको दिन भने मौसमले साथ दिएको अनुभव सुनाइन् । उनले आरोहणका क्रममा सहयोगी शेर्पाहरूले सहयोग गरेकोमा धन्यवाद पनि दिइन् । सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनको असर आफूले सुनेको जस्तो देखिएको बताउँदै उनले आरोहणबाट फर्किने क्रममा उपयोग भइसकेका सामान आफूहरूले सँगै फिर्ता ल्याएको जानकारीसमेत गराइन् ।

नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङ छिरिङ शेर्पाका अनुसार १६ वर्षमुनिका व्यक्तिलाई सगरमाथा आरोहणको अनुमति दिने कानुनी प्रावधान छैन । यस वर्ष सगरमाथा आरोहणको ७० औँ वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम हुँदैछ भने यस वर्ष सबैभन्दा धेरै आरोहीले आरोहणको अनुमति लिएका छन् । यस वर्षको आरोहण गएको शनिवारदेखि सुरु भएको हो ।


क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट