Techie IT
  • १७ जेठ २०८१, बिहीबार
Jhilko

आगोको भुङ्ग्रोमाथिको अनौठो नाच


भक्तपुर । मध्यराति आँगनमा बजेको बाजाको आवाज पल्लो गाउँसम्म सुनिन्थ्यो । मध्यरातिसम्म पनि बजेको बाजा सुनेर आफ्नो गाउँको मात्र होइन, वल्लोपल्लो गाउँका मानिसहरु समेत आगोको भुङ्ग्रोमाथि नाच हेर्न साँझ ढल्किएदेखि नै भेला भएका थिए ।

साँझ ढल्किंदै गयो । मानिसहरूको चहलपहल बढ्दै गयो । आँगनमा बाजा बज्दै थियो । बाजाको आवाज सुनेर रातको पर्वाह नगरी वारिदेखि पारि गाउँसम्मका महिला, पुरुष, बालबालिकाको भीड बढ्दै थियो ।

चाँगुनारायण नगरपालिका-९ ताथली सौडोलको बस्नेत-गिरी बस्तीका पहलमान बस्नेतको घर पछाडिको बारीको पाटामा वरिपरि बाँसले घेरेर बीचमा राखिएको एक सय आठ भारी दाउराको थुप्रामा तान्त्रिक विधिले पूजा गरी बालेको आगोको राप दन्किंदै थियो ।

केही व्यक्तिहरु बाँसले ठोस्दै दनदनी आगो बालिरहेका थिए । राति ९ बजेदेखि तीनवटा रूखबाट काटिएको दाउरा दनदनी बल्दै थियो ।

दुई घन्टाभन्दा बढी समय बलेको दाउरा सबै आगोका भुङ्ग्रोमा परिणत भयो। मध्यराति करिब ११ बजे यो बस्तीसँगै वरिपरिबाट भेला भएका मानिस बारीको डिल र वरिपरि बसेर निकै कौतूहलका साथ ‘अग्निकुण्ड’तर्फ हेर्दै अब के हुन्छ, आगोको सबै भुङ्ग्रोमाथि उफ्रेर सबै आगोको गोल निभाउँछन् कि निभाउँदैनन् भनेर हेर्दै थिए ।

आगोको भुङ्ग्रो नजिकै गुरु रुदबहादुर खड्काले तान्त्रिक विधिअनुसार पूजा गरेपछि कुल देवताका नाममा बोकाको बलि दिइयो ।

त्यसपछि पहलमानको मूल घरमा भित्रिएका सेतो गन्जी र धोती लगाएका पुरुषहरुले पूजा गरेर बत्ती खाएसँगै शरीर कमाउँदै स्नान गरेर फर्किएसँगै काम्दै उफ्रिदै थुपारिएको आगोको भुङ्ग्रोमाथि तीनपटक घुमेपछि गुरुको आदेश पाउने बित्तिकै आगोमाथि दौडिन थाले ।

केहीबेरमा मूल घरको पूजाकोठाभित्र गुरुदेखि विभिन्न देवदेवी र वायु शरीरमा चढेका एक हूल मानिस काम्दै घरबाट निस्किए र आगोको भुङ्ग्रोतर्फ लम्किए । अगाडि बाजा घन्किरहेको थियो। वरिपरि बढेको भीड आगो माथिको नाच हेर्न लालायित थिए।

त्यसपछि देवदेवी एवं वायु चढेका सेता गन्जी, धोती, माला लगाएका व्यक्तिहरू, काम्दै उफ्रँदै दाउराको आगोको भुङ्ग्रो अगाडि पुगे। कोही देवदेवीको जयजयकार गर्दै थिए ।

हातमा थाल बजाउँदै उफ्रिरहेका र अर्का मूल गुरु रुद्रबहादुर खड्का एकै छिनमा आगोको भर्भराउँदो भुङ्ग्रोमा लात्तीले हानेर उफ्रिन थाले । त्यसलगत्तै एकपछि अर्को आगोमा होमिए र त्यसैगरी लात्तीले हाने । गुरुको आदेशपछि नयाँ तथा पुराना डाङ्ग्रेहरू टाउको निहुराउँदै मुखबाट ‘भुर्भुर्भुर्भुर्भुर’ आवाज निकाल्दै जोस्सिँदै एकमाथि अर्को आगोमा होमिन थाले ।

उनीहरू आगोको भुङ्ग्रोमा लात्तीले हान्दै आगोलाई यताउति छर्दै त्यही माथि उफ्रँदै नाच्न थाले । मानौं त्यो एउटा खेलकुद मैदान हो, आगोका तीन भङ्ग्रो फुटबल हो र उनीहरू त्यही, त्यही फुटबल खेलिरहेका छन् ।

नाङ्गो पैतालाले आगोमाथि मानिस नाचेको र  उफ्रिएको देखेर कतिका आँखा आश्चर्यले चम्किला भए । भुङ्ग्रोमाथि नाच्नेलाई आगोले पोलेको कुनै आभास भएजस्तो देखिंदैनथ्यो । काम्दै र मन्त्र फलाक्दै डाङ्ग्रे भर्भराउँदो भुङ्ग्रोमा नाचिरहे ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट