Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सप्तरीमा एक युवकको घाँटी छिनाएको अवस्थामा शव फेला


राजविराज, ८ जेठ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४, मधवापुरमा एक युवकको घाँटी काटेर हत्या भएको छ। मधवापुरस्थित धान खेतमा करिब २० वर्षीय युवकको धारिलो हतियारले घाँटी छिनाएको अवस्थामा सोमबार शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ।

हत्या भएका युवकको पहिचान हुन नसकेको र पोष्टमार्टमका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेशकुमार सिंहले बताए। भारदह बजारदेखि पाँच सय मिटर पश्चिम रहेको चन्द्र नहरभन्दा तीन सय मिटरको दूरीमा शव फेला परेको हो। घाँटी काटिएको युवकको शरीरमा चोटपटक र कोखामा समेत धारिलो हतियारले रोपिएको स्थानीय लिलाकान्त मण्डलले बताए।

राति खेतमा बसेर रक्सी खाएको र झगडा भएपछि हत्या भएको हुन सक्ने स्थानीयवासीको अनुमान छ। मण्डलका अनुसार धारिलो हतियारले घाँटी छिनाएपछि खुट्टामा डोरी बाँधी घिसारेर अर्को स्थानमा लगेको देखिन्छ। भित्री कट्टु मात्र लगाएको अवस्थामा फेला परेको युवकको अन्य कपडाहरू फरक स्थानमा फेला परेको छ भने खेतमा रगतका टाटाहरू देखिएको छ।

सोमबार मधवापुरका स्थानीयवासीले शव देखपछि इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायव निरीक्षक अनील रायलाई सूचना दिएका थिए। अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कञ्चनरूपबाट डिएसपीको टोली घटनास्थल पुगेको छ।

यसअघि वैशख ३१ गते सप्तरीको रूपनी गाउँपालिका(१ स्थित सडक किनारको खेतमा शम्भुनाथ नगरपालिका(२ खैरबोनाका लुकमानको छोरा २० वर्षीय तफेजुलको शव फेला परेको थियो। घटनास्थलबाट फाइटर र गाँजा फेला परेको थियो। धनुषाको मिथिला नगरपालिकास्थित लालगढको केनाइन शाखाबाट तालिम प्राप्त कुकुर मगाएर घटनास्थलको अनुसन्धान गरे पनि प्रहरीले घटनाबारे केही पत्ता लगाउन सकेको छैन।


क्याटेगोरी : जनमञ्च, समाचार, मधेस प्रदेश
ट्याग : #hatya

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट