Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मच्छिन्द्रनाथको भोटो जात्रा भोलि, आज आठ पाथी चामलको भात पकाएर देवतालाई भोज


काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा भोलि हुँदैछ ।

अस्ति सोमवार रथलाई लगनखेलबाट तानेर जावलाखेल ल्याएकाले भोलि भोटो जात्रा हुने तय भएको हो । रथ जावलाखेल ल्याएको चार दिनमा भोटो देखाइने परम्परा छ ।

अहिले जावलाखेलमा रातो मच्छिन्द्रनाथ र मीननाथको दर्शन गर्न भक्तजनको घुईंचो लागेको छ ।

आज दिउँसोे रातो मच्छिन्द्रनाथको रथमा भात चढाएर विशेष पूजा गरिनेछ ।

हरेक वर्ष भोटो जात्राको एक दिन अगाडि मलेकु गुथियारले मच्छिन्द्रनाथलाई भात चढाएर विशेष पूजा गर्ने गरिन्छ ।

पुल्चोकको पाटीमा आठ पाथी चामलको भात पकाएर मच्छिन्द्रनाथ र मीननाथलाई चढाएपछि रथबाट चारै दिशामा फर्केर छर्किने गरिन्छ ।

नेपालभाषामा जा भनेको भात र व्हला भनेर छर्किने चलन छ । त्यसरी भात छर्किने ठाँउ भएकोले जावलाखेलको नाम रहन गएको मान्यता छ ।

भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टंगल लगिनेछ ।

गएको वैशाख ११ गते पुल्चोकबाट रथ तानेर सुरु भएको यस वर्षको रातो मच्छिन्द्रनाथको रथजात्रा भोटो जात्रासँगै भोलि सकिनेछ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट