Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

धनुषामा चोरीको घटनामा संलग्न २७ जना सार्वजनिक


जनकपुरधाम, ११ जेठ । धनुषामा चोरीको घटना बढेसँगै प्रहरीले एकै दिन २७ जनालाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न स्थान र मितिमा पक्राउ परेका आरोपितहरुलाई सार्वजनिक गरेको छ। पक्राउ पर्नेमाथि खानेपानीको कल चोरीदेखि मोटरसाइकल तथा गरगहना चोरीको आरोप छ।

बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेका चोरमध्ये अधिकांश १६ वर्षदेखि २५ वर्षसम्मका छन्।

प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार लागुऔषध सेवनकर्ता, रोजगारीको कमी, हाईफाई लाईफ र खर्चिलो तथा भडकिलो जीवनशैली, महँगा गाडी, मोटरसाइकल, ब्राण्डेड सामान लगाउने लोभमा सजिलो आर्थिक माध्यम, साथी संगतको कुलतका कारण उनीहरुले चोरी गर्ने गरेको बताए ।

चोरी गर्नका लागि पक्राउ परेकाहरुले घरमा नरहेको तथा सिसिटिभीको निगरानीबाट टाढा रहेको घरहरुलाई टार्गेट गरेर चोरी गर्ने गरेको पाइएको हो । यस्तै, सरकारी कार्यालय, अस्पताल, बिहेलगायत स्थलमा पार्किङ गरेर राखिएको मोटरसाइकल चोरी हुने गरेकोमा प्रहरीले विशेष सुरक्षा योजना बनाई खटेपछि उनीहरुलाई पक्राउ गरेको प्रवक्ता गौतमले बताए।

उनका अनुसार चालु वर्षमा हालसम्म ९७ जना चोरीको आरोपमा पक्राउ परेका छन्। यस्तै चोरीमा पक्राउ परेपछि पीडितले जाहेरी दिन नमानेपछि पक्राउ परेका ४ सय जनामाथि अभद्र व्यवहार शीर्षकमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


क्याटेगोरी : जनमञ्च, समाचार, मधेस प्रदेश
ट्याग : #chori, #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट