Techie IT
  • १७ जेठ २०८१, बिहीबार
Jhilko

यात्राको थकान मेटाइदिने अन्नपूर्ण पदमार्गको झरना


बेनी, १२ जेठ । अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वनजंगल । पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गमा रहेका आधा दर्जन बढी यस्तै मनमोहक झरनाको दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ ।

सो हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले आरोहण गर्दा प्रयोग गरेकै पदमार्गलाई समेटेर तयार गरिएको ‘मौरिज हर्जोग पदमार्ग’मा फुतफुते झरना, पञ्च झरना र रातो झरनालगायत आधा दर्जन बढी मनमोहक झरना छन् ।

यहाँ पहाडबाट निस्कने फुतफुते झरनाले पर्यटकलाई सबैभन्दा बढी आकर्षित गर्ने गरेको छ । कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झर्ने झरनाको पानीको दृश्यले यात्रालाई रोमाञ्चक बनाएको पहिलोपटक झरनाको अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक प्रदीप पुनले बताए ।

“सबै झरना पहाडबाटै बग्ने हुन् । तर, यो झरनाले पहाडलाई छेडेर निस्किएजस्तो देखिन्छ । झरनाबाट बग्ने निलो रङको पानीले झरनालाई नियालेर धित नै नमर्ने रहेछ,” पुनले भने ।

नीलगिरि र अन्नपूर्ण हिमालबाट झर्ने मिस्त्रीखोलाको पानी यसै झरना भएर बग्ने गर्छ । झरना र फेदीमा रहेको पानीको तलाउमा यस क्षेत्रमा जाने अधिकांश पर्यटक तस्बिर र भिडियो खिचेर रमाउने गर्छन् । घना जंगल र पहाडको उकालो बाटो हुँदै गरिने पदयात्राका दुःख र थकानलाई झरनाको मनमोहक दृश्यले भुलाइदिने गरेको अर्का पर्यटक बालकृष्ण पौडेलले बताए ।

यो झरनाकै अगाडि अन्नपूर्ण हिमशृंखलाबाट बग्ने अर्को आकर्षक झरना रहेको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत गुफाफाँटमा अन्नपूर्ण हिमशृंखलाबाटै बग्ने पञ्च झरना पर्यटकका लागि अर्को आकर्षणका रूपमा रहेको छ ।

अग्लो पहाडबाट एकपछि अर्को गर्दै लहरै रहेका पाँच झरनाको अवलोकन गर्न पाउँदा पर्यटक खुसी भएर आवतजावत गर्ने गरेको स्थानीय पर्यटन व्यवसायी तेज गुरुङले बताए ।

पदमार्गअन्तर्गत भुसकेटमेलानजिकै रहेको रातो झरना पनि पर्यटकको अर्को आकर्षणका रूपमा रहेको छ । अन्नपूर्ण पदयात्रामा जाने पर्यटकका लागि अन्नपूर्ण हिमशृंखलाको अवलोकनसँगै मनमोहक झरनाको दृश्यावलोकन गर्न पाउनु प्रमुख आकर्षण रहेको छ ।

झरनाको परिसरमा पर्यटन पूर्वाधार निर्माण गरी प्रवर्द्धनमा आवश्यक तयारी गरिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

फुतफुते झरना वारपारका लागि अहिले रहेको झोलुंगे पुललाई मर्मत गर्न आवश्यक बजेट व्यवस्थापन भएको र रातो झरना वारपारका लागि पुल निर्माण गर्न योजना तर्जुमा गरिने उनले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा सडक सञ्जालको पहुँच विस्तार र पूर्वाधार निर्माण भएपछि पर्यटकको आगमन बढेको छ । नारच्याङबाट हुमखोलासम्मको २० किलोमिटर दूरीमा सवारीसाधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिने भएपछि अन्नपूर्ण आधार शिविर एक दिनको यात्रामा छोट्टिएको छ ।


क्याटेगोरी : जनमञ्च, पर्यटन, समाचार, गण्डकी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट