Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अर्धचेत श्रीमती लिएर जब श्रीमान् जिल्ला प्रशासन पुगे


सल्यान, १३ जेठ । जिप दुर्घटनामा घाइते श्रीमतीको उपचारको माग गर्दै श्रीमान् राजेश पुन अर्धचेत श्रीमतीलाई बोकेर जिल्ला प्रशासन कार्यालय पुगेका छन्।कुमाख गाउँपालिका ७ जिमालीले पुनले श्रीमती सुनिता बोहरालाई बोकेर उपचारमा सहयोगका लागि जिल्ला प्रशासन कार्यालय पुगेका हुन् ।

गत मङ्सिर १५ गते कुमाख गाउँपालिका ७ डुमकोटबाट खैराबाङ आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए । तिनै घाइते मध्येका एक हुन सुनिता बोहरा ।

यातायात समितिले वास्ता नगरेको र गाडी धनी अहिलेसम्म फरार अवस्था रहेको छ । उनलाई नेपाली सेनाको हेलिकप्टरमा नेपालगञ्ज लगे पनि उपचार हुन नसकेपछि भारतको लखनउ लगिएको थियो । तीन महिनासम्म उपचार गर्दा लाखौँ खर्च भयो तर सन्चो भएन । ‘गम्भीर घाइते भएकी सुनिताको दुवै हातखुट्टा नचल्ने र बोल्न नसक्ने अवस्था छ, सबै निकायलाई गुहारे, सहयोग मागे तर पनि पनि कुनै निकाय बाट सहयोग पाउन सकिन, उपचार गर्न आर्थिक अभाव भएपछि बाध्य भएर जिल्ला प्रशासन कार्यालय ल्याएको हुँ ’राजेशले भने ।

उपचारमा हालसम्म २५ लाख भन्दा बढी खर्च भइसकेको बताउँदै ऋण दिएकाहरूले पैसा फिर्ता माग्दा झनै समस्या बढेको उनको भनाई छ ।

जिल्ला अस्पताल सल्यानका डा। जितेन्द्र भण्डारीले घाइते सुनिताको जिल्ला अस्पतालमा उपचार सम्भव नभएको बताए । ‘सुनितालाई विशेषज्ञ सहितको उपचार चाहिन्छ, आफै खाने, हिँडडुल गर्ने र बोल्न सक्ने बनाउनको लागि सर्जन र फिजियोथेरापि आवश्यक छ ।’

प्रहरीका अनुसार दुर्घटनामा परेको गाडी प्रहरी कार्यालयमा छ । गाडी चालक पक्राउ परिसकेका छन् । तर गाडी धनी फरार हुँदा समस्या भएको छ । प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले उपचारको अभावमा छटपटाइ रहेकी घाइते सुनितालाई उपचारको लागि वीर अस्पताल काठमाडौँमा लिनको लागि सहजीकरण गर्ने बताएका छन् ।

यस्तै भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वालाले घाइते बोहराको उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको बताए ।


क्याटेगोरी : जनमञ्च, समाचार, स्वास्थ्य, कर्णाली प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट