Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नयाँ संसद् भवन निर्माणको काम समयमै सक्नुहोस् : सभामुख घिमिरे


काठमाडौं । सभामुख देवराज घिमिरेले नयाँ संसद् भवनको काम निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्। बिहीवार आज सिंहदरबारमा रहेको निर्माणाधीन संसद् भवनको निरीक्षण एवम् अवलोकन गर्दै उनले ठेक्का समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

उनले अहिले ठेक्का प्राप्त समयको हिसाबले काम कम भएको बताए । उनले अबका दिनमा कामले गति लिने विश्वास व्यक्त गरे । उनले विगतका प्रतिकूलतालाई अनुकूलतामा बदलेर तोकिएको समयभित्रै काम सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘समयको हिसाबले काम कम छ, तर अब यसले गति लिन्छ, सबै लाग्नुपर्छ, बन्नुपर्छ समयमा नै । यो राष्ट्रको आवश्यकता हो । हिजोका प्रतिकूलतालाई अब अनुकूलतामा बदलेर समयमा नै काम सक्नुपर्छ । अब अनुकूलता सबै ठाउँमा छ । यसले अब समयमा नै काम सकिन्छ ।’

सभामुख घिमिरेले वर्तमान अवस्थामा देशको अर्थतन्त्र सन्तोषजनक नरहे पनि संसद् भवन निर्माण कार्यका लागि सरकारले भुक्तानी गर्न आनाकानी नगरेको बताए । उनले सबै भुक्तानी समयमा नै दिइरहेकाले निर्माण पक्षले पनि सरकारको आवश्यकतालाई बुझेर निर्माण कार्य समयमा नै सम्पन्न गर्नुपर्ने बताए। उनले मन्त्रालय र ठेकेदार कम्पनीले एकले अर्कोलाई दोष लगाउनु भन्दा आफ्नो काम सम्पन्न गर्नेकुरामा बढी जोड हुुनपर्ने बताए ।

उनले भने, ‘हामीले समयमा नै काम सक्नुपर्छ, अहिले देशको अर्थतन्त्र त्यति गतिलो छैन । हामीले कतिपय ठाउँमा पेमेन्ट गर्न नसकेर ठेकेदारहरु त्यत्तिकै बसेका छन्, तर यहाँ त कुनै पेमेण्टको समस्या नै छैन भनेपछि काम समयमा नै सक्नुपर्छ । संसद्का कर्मचारीहरुले बिहानदेखि काम गर्दा खाजा खान नपाएको कुरामा नै आज हामी छलफल गर्दैछौँ । देशको आर्थिक संकट यस्तो छ । कर्मचारीहरुले यस्तो बेहोरेर भए पनि कसरी काम चलाउने भन्नेकुरा छ । एकले अर्कोलाई दोष नदेखाऔँ । साझा दायित्वका रुपमा काम गरौँ । ६३ प्रतिशत बल्ल पुगेको छ । समग्रमा ५० प्रतिशतमा छौँ ।’

सभामुख घिमिरेले संसद् भवन निर्माणको काम देशको साझा र आवश्यकताको विषय ठानेर निर्माण गर्नुपर्नेमा जोड दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट