Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीलाई


हेटौँडा, २० जेठ। हेटौँडामा भएको खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । हेटौँडा –४, हुप्रचौरस्थित भलिबल कोर्टमा स्व। केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर भलिबल सङ्घको संयुक्त आयोजनामा भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा एपीएफले अर्को विभागीय टिम नेपाल आर्मीलाई पराजित गर्दै उपाधि जितेको हो ।

एपीएफले आर्मीलाई २५–२०, १७–२५, २५–१७ र २९–२७ को सेटमा पराजित गरेको थियो । एपीएफले उपाधिसँगै नगद दुई लाख रुपियाँ र उपविजेता आर्मीले नगद एक लाख रुपियाँ प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित एपीएफका विजय थापाले नगद १५ हजार रुपियाँ प्राप्त गरे । यस्तै, प्रतियोगिताको उत्कृष्ट सेटर एपीएफकै सुवास कुँवर, उत्कृष्ट स्पाइकर आर्मीका शरण सामरी, उत्कृष्ट डिफेन्डर आर्मीका ईश्वर थापा, उत्कृष्ट ब्लकर आर्मीका सञ्जय चौधरी र उत्कृष्ट प्रशिक्षक एपीएफका पुष्पजङ्ग मल्ल घोषित हुँदै नगद जनही पाँच हजार रुपियाँ प्राप्त गरे ।

गण्डकी प्रदेश र नेपाल पुलिसले सान्त्वना पुरस्कार ५०–५० हजार रुपियाँ प्राप्त गरेको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको समापन कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।


क्याटेगोरी : खेलकुद, समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट