Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सुनकोसी नदीमा बेपत्ता सीटीईभीटीका कर्मचारीको खोजी कार्य तेस्रो दिन पनि जारी


सिन्धुली, २१ जेठ । सिन्धुलीको गोलन्जोर गाउँपालिका –७ लौकुनमा दुई दिनअघि सुनकोसी नदीमा जीप खस्दा बेपत्ता भएका सीटीइभीटीका तीन कर्मचारीको खोजी कार्य जारी छ ।

सशस्त्र प्रहरीको दुई वटा गोताखोर टोली, नेपाली सेनाको एउटा गोताखोर टोली र जनपथ प्रहरीको विपद् व्यवस्थापन गरी चार वटा टोली आइतबारदेखि परिचालन गरी खोजी कार्यलाई तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कार्यालयका अनुसार गोलन्जोर गाउँपालिका –७ लौकुनमा शुक्रबार दिउँसो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)को बा १ झ ७४६७ नम्बरको जीप सुनकोसी नदीमा खस्दा गाडीमा सवार चार जनामध्ये तीन जना बेपत्ता भएका थिए ।

बेपत्ता हुनेमा सीटीईभीटी प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र ३२ वर्षीय विद्युत प्राविधिक अधिकृत भानु पौडेल छन् । गाडीका चालक ३१ वर्षीय कृष्ण चौधरी पौडी खेलेर बाहिर निस्किएको र उहाँको शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ ।

बेपत्ताको खोजीमा शनिबारसम्म सशस्त्र प्रहरीको उपत्यका गोताखोर टोली परिचालन भएको थियो । आइतबारदेखि सशस्त्र प्रहरीकै कुरिनटार गोताखोर टोली, नेपाली सेनाको सुन्दरीजल गोताखोर टोली र जनपथ प्रहरीको विपद् व्यवस्थापन टोली पनि थपेर चार टोली परिचालन गरिएको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए । उनले भने, ूखोजी कार्यलाई तीव्र बनाएका छौँ । बेपत्ता हुनुभएकाहरु फेला पर्न सक्नुभएको छैन ।ू

खोजी गर्न चार वटा टोली परिचालन गरिएकोले बेपत्ता भएकाहरू फेला पर्नसक्ने उनको आशा छ । उनका अनुसार जीप खसेको ठाउँ सुनकोसी नदीमा पानीको बहाव धेरै र गहिरो भएकोले खोजी गर्न गाह्रो भएको हो ।

जीप खसेको भित्तामा सुनकोसी नदी पनि ठोकिएकाले सुरुङ बनेको हुनसक्ने र जीप त्यही सुरुङभित्र पसेको पनि हुनसक्ने अनुमान गरिएको छ । सुनकोसीको पानीको बहावसमेत अर्को तर्फबाट कटाउन शनिबारबाटै तीन वटा एक्स्काभेटर मेसिन प्रयोग गरिएको छ । अहिलेसम्म २५ प्रतिशत पानी अर्को तर्फबाट कटाइएको छ । आधा पानी अर्कोतर्फ फर्काएर करेन्ट प्रवाह घटाई खोजी कार्यलाई सहज बनाउने प्रयास गरिएको छ ।

धमिलो पानी भएकाले नदीको भुईँसम्म नदेखिँदा खोजीमा समस्या भएको एसपी सिलवालको भनाइ छ । ‘गहराइमा पुग्दा समेत केही देखिँदैन,’ उनले भने, ‘पानी सङ्लो भई दिएको भए यति ठुलो समस्या हुने थिएन ।’

 


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #sunkoshi

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट