Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गाउँपालिका अध्यक्षका छोराले झिमरूक गाउँपालिकाको कार्यालयभित्रै कर्मचारीमाथि हातपात गरेपछि …


प्युठान, प्युठानको झिमरूक गाउँपालिकाको कार्यालयभित्रै प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीमाथि हातपात भएको छ।

कर्मचारीमाथि गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीको छोराले हातपात र दुर्व्यवहार गरेको विरोधमा कर्मचारीले सेवा रोकेर आन्दोलन गरेका छन्।

‘प्रमुख प्रशासकीय अधिकृतसहित हामीहरू कार्यालय बाहिर प्रतिक्षालयमा बसिरहेका छौं, भित्र गएको छैन’ सूचना अधिकारी हरिप्रसाद पोखरेलले भने, ‘गाउँपालिका अध्यक्ष र केही वडाध्यक्षहरू कार्यालय भित्र हुनुहुन्छ।’

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक सुवास खड्काले बुधबार बेलुकी यसबारे प्रहरीलाई जानकारी आएको बताए। ‘घटनाबारे बुझ्दा अध्यक्षले हामी आफैँ मिलाउँछौं भन्नुभयो,’ उनले भने, ‘समस्या समाधान गर्न पालिकामा छलफल पनि भइरहेको रहेछ।’

गाउँपालिका अध्यक्षका छोरासमेत रहेका माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता मिलन महतरा क्षेत्रीले योजन भुक्तानीको विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल लगायतलाई हातपात गरेको आरोप छ।

महतराले पूरा नभएको योजनामा भुक्तानी गर्न बुधबार प्रशासकीय अधिकृतसहित योजना शाखाका कर्मचारी दीपक जिसीलाई दवाव दिएका थिए। साथै उनले हातपात र दुर्व्यवहारसमेत गरेको कर्मचारीहरू बताउँछन्।

‘पूरा नभएको योजनामा उहाँले भुक्तानी गर्न दवाव दिनुभएको थियो। टेबुल ठोक्नुभयो। कति घूस चाहिन्छ भन्दै टेबलमा पैसा फालेर गालीसमेत गर्नुभयो,’ एक कर्मचारीले भने, ‘गाउँपालिकाकै अध्यक्षको छोराले यस्तो क्रियाकलाप गर्दा काम गर्ने वातावरण बनेको छैन।’

कर्मचारीहरूले विज्ञप्ति निकालेर घटनाको विरोध गरेका छन् भने दोषीमाथि कारबाहीको माग गरेका छन्। दोषीमाथि कारबाही नभएसम्म आफूहरू सेवामा नफर्किने अडान कर्मचारीको छ।


क्याटेगोरी : पालिका, समाचार, लुम्बिनी प्रदेश
ट्याग : #jhimruk

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट