Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जुम्ली कृषकलाई मार्सी धान रोप्ने चटारो


जुम्ला, २६ जेठ । जुम्लाका किसानलाई अहिले मार्सी धान रोप्न भ्याइनभ्याइ छ । उनीहरु बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुने गरेका छन् । जेठको पहिलो हप्तादेखि असारको दोस्रो हप्तासम्म जिल्लाभर धान रोपाइँ हुने गर्छ ।

पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन थालेका छन् । जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि मार्सी धान खेती बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले बताए । जिल्लाका सात गाउँपालिका, एक नगरपालिकाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्रयाङकोट र विश्वकै उच्च ठाउँमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा पनि स्थानीय कालीमार्सी र रातो मार्सी धानको रोपाइँ धमाधम भइरहेको छ ।

जिल्लामा २ हजार ८ सय ५० हेक्टरमा धानखेती हुने गरेको छ । त्यसमध्ये १ हजार २ सय हेक्टरमा मार्सी धानको खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख अधिकारीको भनाइ छ । गएको वर्षको असोज महिनाको बाढीपहिरोले सिञ्जा गाउँपालिकाका ४२ वटा कुलोमा क्षति गरेको थियो ।

गाउँपालिकाको लगानी र स्थानीयवासीको श्रमदानमा २८ वटा कुलो पुनःनिर्माण भइ सञ्चालनमा आएपछि सिञ्जाका प्रायजसो क्षेत्रमा धान रोपाइँ सुरु भएको सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए ।

समुद्री सतहदेखि २ हजार ८ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउँलोमा उत्पादन हुने मार्सीधान खेतीलाई संरक्षण गर्नका लागि प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्ने गाउँपालिका अध्यक्ष पुन्नसिंह बोहोराले बताए । ‘पालिकाको आफ्नो बजेटमा मार्सी रोपाइँ हुने जिउलोमा घेरबार गरेका छौँ । बजेटको अभावले अझै हुन सकेको छैन’, उनले भने ।

मार्सी धान संरक्षण गर्नका लागि गाउँपालिकाको आउने वर्षको नीति तथा कार्यक्रमबाट बजेटको थप व्यवस्थापन गरिने गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जनाकारी दिए । सङ्घीय सरकारले आउँदो आव २०८/०८१ का लागि प्रस्तुत गरेको बजेटमा जुम्ली मार्सी धानको ब्रान्डिङ गरिने समावेश गरेको छ ।


क्याटेगोरी : कृषि, समाचार, कर्णाली प्रदेश
ट्याग : #marsi, #ropai

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट