Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ढोरपाटनका मेयरविरुद्द सात सय ६८ वटा उजुरी, मेयर कहाँ छन् अत्तोपत्तो छैन


बाग्लुङ। बाग्लुङमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्था र शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा  ढोरपाटनका मेयर देवकुमार नेपालीविरुद्ध अहिलेसम्म सात सय ६८ वटा उजुरी परेका छन् । नेपाली जेठ ५ गतेदेखि सम्पर्कमा छैनन् ।

इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्य चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई गएको वैशाख ९ गते गृह मन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । अहिलेसम्म उनीहरू बेपत्ता छन् ।

‘नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानले खोजी गरिरहेको छ, तर कोही भेटिएका छैनन्’, डीएसपी केसीले भने, ‘उजुरी गर्नेहरू राति ८ बजेसम्म लाइनमा हुन्छन्, केही दिन भयो हाम्रो कार्यालय भिडले भरिएको छ ।’

बचतकर्ताको दुई अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप नेपालीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जेठ १६ गते उनीसहित पदाधिकारीले बचतकर्ताको अर्बौँ रकम अपचलन गरी सङ्गठित ठगी गरेकाले उनीहरूविरुद्व उजुरी लिन पत्राचार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो । त्यसयता सोमवार बेलुकासम्म सात सय ६८ जनाले रकम मागदाबीसहित उजुरी गरेको र अझै चार हजारभन्दा बढी सङ्ख्यामा बचतकर्ताको उजुरी आउनसक्ने अनुमान गरिएको केसीले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म ८९ करोड ६६ लाख रुपैयाँ बचत रकम पाउनुपर्ने दाबी गरिएको छ । इमेज सहकारीको बाग्लुङ बजार, गलकोट र बुर्तिबाङमा गरी तीन वटा शाखा बाग्लुङमा मात्र छन् भने पोखरा सिर्जनाचोकमा समेत यसको शाखा छ ।

बाग्लुङमा मात्र दुई अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना भएको अनुमान गरिएको छ । पोखराको सिर्जनाचोकमा रहेको सहकारीका बचतकर्ता पोखरा महानगरको सहकारी महाशाखा र जिल्ला प्रहरी कार्यालयमा धाइरहेका छन् । बाग्लुङ र पोखरा दुवै ठाउँका बचतकर्ताले सङ्घर्ष समिति नै बनाएर धर्ना तथा दबाब कार्यक्रम गरिरहेका छन् ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट