Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

यस वर्षको सगरमाथा अरोहणमा १७ जनाको मृत्यु


काठमाडौं, ३१ जेठ । सन् २०२३ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जसरी सर्वाधिक आरोहणको इतिहास रचियो त्यसैगरी केही दुःखद् घटनाको पनि सामना गर्नु पर्‍यो।

यस यामको सगरमाथा आरोहणमा ठूला विपदबिना नै १७ जनाको मृत्यु भयो। पर्यटन विभागका अनुसार मे २६ तारिखसम्म सगरमाथा आरोहणका क्रममा सात नेपाली र १० विदेशीसहित १७ जनाको मृत्यु भएको हो ।

नेपाल, भारत, चीन, मलेसिया, सिङ्गापुर, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र हङ्गेरी गरी नौ देशका नागरिकको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको हो।

यस वर्षको सगरमाथा आरोहणमा प्रतिकूल मौसम अर्थात् बढी चिसो भएकाले पनि धेरै सङ्ख्यामा आरोहीको मृत्यु भएको २८ पटक सगरमाथाको आरोहण गरेर विश्वकीर्तिमान कायम गरेका कीर्तिमानी आरोही कामीरिता शेर्पाले बताए। ‘यसपालि चिसो बढी थियो, मौसमले पनि साथ दिएन, कतिपय दक्ष र अनुभवी गाइड पर्याप्त नभएकाले पनि मृत्यु बढेको हुनसक्छ’, उनले भने।

विभागको पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाका अनुसार प्रतिकूल मौसमका कारण यो वर्ष धेरै सङ्ख्यामा आरोहीको दुःखद् मृत्यु भएको छ। ‘यो पटक मौसमकै कारण धेरै आरोहीको मृत्यु भएको हो, मौसम सफा भयो भनेर आरोही अघि बढे बिचमा मौसम छिटोछिटो परिवर्तन भयो। यसपटक मौसम प्रतिकूलताका कारण नै धेरैको मृत्यु भएको छ’, उनले भने।

यस याममा आरोहीको सङ्ख्या बढी भएको भनी प्रचारमा आएको विषय सत्य नरहेको भन्दै निर्देशक खतिवडाले मौसमले साथ नदिएकाले आरोहीको भिड बढेको उल्लेख गरे। निर्देशक खतिवडाले ३० दिनका लागि कूल चार सय ७८ आरोहीलाई आरोहण अनुमति दिइएको र औसतमा दैनिक १६ जनाको आरोहण हुने अनुमानसहित आरोहण अनुमति दिइएको बताए।

विभागका अनुसार सामान्यतः अप्रिल अन्तिमसम्म ‘रोप फिक्सिङ’को काम सकिन्छ। मे महिनाभरि आरोहण चल्छ। यो सङ्ख्या सगरमाथामा भएका ठूला विपद्पछिको सबैभन्दा धेरै हो। यसअघि सन् २०१५ ९वि।सं। २०७२ वैशाख १२ गते० आएको गोरखा महाभूकम्पका कारण १९ जनाको मृत्यु भएको थियो।

त्यसअघि सन् २०१४ मा खुम्बु आइसफलमा गएको हिमपहिरोमा परी १६ जनाको मृत्यु भएको थियो। मौसम प्रतिकूलताका साथै हाईअल्टिच्यूटका कारण पनि यो वर्ष धेरै आरोहीको मृत्यु भएको इमाजिन नेपालका कार्यकारी निर्देशक दाबा ग्याल्जेन शेर्पाले बताए।


क्याटेगोरी : पर्यटन, समाचार, कोशी प्रदेश
ट्याग : #sagarmatha

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट