Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कालीमाटी बजारमा आज गोलभेँडाको कारोबार सामान्य, किलोको ६ देखि १० रुपैयाँ थोक मूल्य


काठमाडौं । काठमाडौंको मुख्य थोक बजार कालीमाटीमा आज गोलभेँडाको कारोबार सामान्य रुपमा भइरहेको छ । आज कालीमाटीबाट पोखरा, नारायणगढलगायत सहरमा पनि गोलभेँडा पठाइएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

हिजो मूल्य नपाएको भन्दै किसानसहित व्यापारीले गोलभेँडा फालेर विरोध गरेका थिए । आज भने बिहानैदेखि सामान्य रुपले गोलभेँडाको कारोबार भइरहेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । उनका अनुसार बजारमा आज हिजो भन्दा गोलभेँडा कम भित्रिएको छ ।

हिजो ९५ टन गोलभेँडा भित्रिएकोमा आज ८६ टन मात्रै भित्रिएको छ । भाउ भने हिजो र आज एउटै छ । हिजो पनि नेपाली टनेलको सानो गोलभेँडा किलोको ६ देखि १० रुपैयाँ थोक मूल्य थियो भने आज पनि मूल्य उही छ । सलादमा प्रयोग हुने ठूलो गोलभेँडा भने किलोको ३० देखि ४० रुपैयाँ थोक मूल्य छ ।

गोलभेँडाको माग र आपूर्तिको सन्तुलन नमिल्दा सस्तो भएको कालीमाटीका थोक बिक्रेता भगवानचन्द्र उप्रेतीले बताए । उत्पादन धेरै हुँदा अहिले मागभन्दा पनि आपूर्ति धेरै भएको छ । जसले गर्दा भाउ सस्तो भएको छ ।

बजार भारतीय गोलभेँडाले ओगटेको आरोप लागिरहँदा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भने यसको खण्डन गरेको छ । बजारमा अहिले तरकारी र अचारमा प्रयोग हुने भारतीय गोलभेँडा नआएको समितिका सूचना अधिकारी विनय श्रेष्ठको दाबी छ ।

सलादमा प्रयोग हुने ठूलो गोलभेँडा मात्रै भारतबाट आइरहेको उनको भनाइ छ । कालीमाटी बजारमा काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवनलगायत जिल्लाबाट गोलभेँडा भित्रिएको पनि उनले बताए ।


क्याटेगोरी : अर्थ, कृषि, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट