ताप्लेजुङका ५० वटा घर बाढी पहिरोको जोखिममा
![](https://ap-south-1.linodeobjects.com/jhilko/2023/06/flood.jpg)
ताप्लेजुङ, ४ असार । ताप्लेजुङमा ५० वटा घर बाढी पहिरोको जोखिममा परेका छन् । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा सात घर, सिदिङवा र मैवाखोला गाउँपालिकामा २१ वटा घर र पाथीभरा याङवरक गाउँपालिकामा एउटा गरी ५० घर परिवार बाढी र पहिरोको जोखिममा परेका हुन् ।
शनिवारदेखि लगातार परेको वर्षापछि आएको बाढी र पहिरोका कारण ताप्लेजुङमा मानवीय तथा भौतिक क्षति भएको छ । ताप्लेजुङमा अहिलेसम्म पहिरोमा परि तीन जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । तीन जना अझै बेपत्ता छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरिजङ्गामा एक, सिदिङवामा एक र मैवाखोलामा एक गरी तीन वटा पक्की मोटरेबल पुलमा पूर्णरुपमा क्षति पुगेको छ । त्यस्तै, ताप्लेजुङको विभिन्न क्षेत्रमा पाँच वटा झोलुङ्गे पुल बाढीले बगाएको छ । पुल बगाएसँगै एक ठाउँबाट अर्को ठाउँमा जान समेत बन्द भएको छ । सिदिङवा, मैवाखोला र सिरिजङ्गा गाउँपालिकामा पाँचवटा गाई, भैँसी दुई वटा, आठ वटा बाख्रा बाढीले बगाएको जिल्ला प्रशासशन कार्यालय ताप्लेजुङले जनाएको छ ।
सिरिजङ्गामा चार, सिदिङवामा चार र पाथीभरा याङवरकामा एक गरी नौ घरमा पूर्णरुपमा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
त्यस्तै, सिदिङवामा एक र सिरिजङ्गामा एक गरी दुई वटा विद्युत् गृहमा पूर्णरुपमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरिजङ्गा–८ याम्फुदीनमा र वडा नम्बर ७ को खेवाङमा गरी सात वटा सरकारी कार्यालयमा पूर्ण रुपमा क्षति पुगेको छ ।
सिरिजङ्गा –८ मा रहेको एक क्रसर उद्योगसमेत बाढीले बगाएको छ । त्यस्तै, एउटा कुखुरा फर्ममा पूर्ण रुपमा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ । सिरिजङ्गा –८ याम्फुदीनमा एउटा सामुदायिक विद्यालयसमेत बाढीले बगाएको छ ।
क्याटेगोरी : समाचार, कोशी प्रदेश
प्रतिक्रिया