Techie IT
  • १३ वैशाख २०८१, बिहीबार
Jhilko

बङ्लादेशमा रोहिङ्ग्या शिविरमा भीषण आगलागी : दुई हजारभन्दा धेरै घर जले


बङ्लादेशमा रहेको रोहिङ्ग्या शरणार्थी शिविरमा भीषण आगलागी हुँदा १२ हजारभन्दा मानिस घरबारविहीन बनेका छन् । हिजो भएको आगलागीमा मानिसहरुले भागेर ज्यान बचाउन सफल भए पनि घर र घरभित्र रहेका सामग्री जलेर नष्ट भएका बीबीसीले जनाएको छ ।

बङ्लादेशका शरणार्थी आयुक्त मिजानुर रहमानले शरणार्थीका लागि बनाइएका झण्डै दुई हजार घर जल्दा १२ हजारभन्दा धेरै मानिस घरबारविहीन बनेका बताएका छन् । आगलागीमा ३५ वटा मस्जिद र २१ वटा लर्निङ सेन्टर पनि जलेर खरानी भएका उनले बताए ।

हिजो दिउँसो चार बजेतिर सुरु भएको आगो झण्डै तीन घण्टापछि निभाइएको बङ्लादेशको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । अहिले शिविरमा पानी लगायतका आधारभूत वस्तुहरुको आपूर्ति समेत जोखिममा रहेको छ ।

बङ्लादेशका रोहिङ्ग्या शिविरमा बारम्बार आगलागीका घटना हुने गरेका छन् । यसअघि सन् २०२१ र सन् २०२२ मा गरी आगलागीका दुई सय २२ वटा घटना भएका थिए । सन् २०२१ को मार्चमा एउटा बस्तीमा आगलागी हुँदा १५ जनाको ज्यान जानुको साथै झण्डै ५० हजार जना विस्थापित भएका थिए ।

शिविरमा म्यानमारमा भएको रोहिङ्ग्या जातीय अल्पसङ्ख्यकहरू विरुद्ध सैन्य कारबाहीपछि भागेका मानिसहरूलाई राखिएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट