Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

शान्ति प्रक्रिया चाँडै सुरु नगरिए युक्रेन युद्ध नियन्त्रण बाहिर जाने चीनको चेतावनी


काठमाडौं । शान्ति प्रक्रिया चाँडै सुरु नभए युक्रेन युद्ध नियन्त्रण बाहिर जाने चिनियाँ विदेशमन्त्री छिन ग्याङले चेतावनी दिएका छन् ।

मङ्गलबार बेइजिङमा आफ्नो वार्षिक पत्रकार सम्मेलनमा छिनले रुस र युक्रेनबीचको युद्ध महत्वपूर्ण मोडमा पुगेको बताए ।

“शत्रुताको अन्त्य हुन्छ, शान्ति स्थापना हुन्छ र राजनीतिक समाधानतर्फ स्थिति अघि बढ्ने हुन्छ अथवा आगोमा घिउ थपिनेछ, संकट फराकिलो हुन्छ र स्थिति नियन्त्रण बाहिर जानेछ ” उनले चेतावनी दिए ।

चिनियाँ विदेशमन्त्री छिनले अब शान्ति, विवेक र वार्तालापको समय भएको र वार्ता जतिसक्दो चाँडो सुरु हुनुपर्नेमा जोड दिए ।

युरोपमा दीर्घकालीन शान्ति र स्थायित्व हासिल गर्ने यो एक मात्र उपाय भएकाले वार्ताका क्रममा सबै पक्षको वैध सुरक्षा चासोलाई सम्मान गर्नुपर्ने उनले बताए ।

छिनले द्वन्द्व अन्त्य गर्नका लागि शान्ति प्रक्रिया सुरु गर्ने अघिल्ला प्रयासहरू बारम्बार कमजोर भएकोमा खेद व्यक्त गरे ।

त्यहाँ एक अदृश्य हात छ जसले द्वन्द्वलाई चर्काउने दिशामा धकेलिरहेको छ र युक्रेनी संकटलाई निश्चित भूराजनीतिक एजेन्डा पूरा गर्न प्रयोग गर्न खोजिरहेको छिनले बताए ।

रुसले बारम्बार युक्रेनको द्वन्द्वलाई अमेरिका र यसका नाटो सहयोगीहरूले हतियार, धन र खुफिया सूचना उपलब्ध गराउने गरी छद्म युद्ध गरिरहेको आरोप लगाउँदै आएको छ ।

गत हप्ता, रुसी विदेशमन्त्री सर्गेई लभरोभले रुसले राजनीतिक समाधान खोज्ने निष्कपट इच्छाबाट अघि बढेको बताए । साथै उनले अहिलेसम्म कुनै पनि गम्भीर शान्ति प्रस्ताव पश्चिमा देशहरूको तर्फबाट नआएको पनि बताएका थिए ।

आफ्नो पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री छिनले रुस र चीनबीचको सम्बन्धको महत्वबारे पनि धारणा व्यक्त गरे ।

विगत एक वर्षमा, चीनले रुसको निन्दा र प्रतिबन्ध लगाउन पश्चिमी दबाबको प्रतिरोध ग¥यो र लगातार संकटको शान्तिपूर्ण समाधानको लागि आह्वान गर्दै आएको छ ।

उनले चीन र रुसबीचकोे सहयोगले विश्वको बहुध्रुवीकरण र अन्तर्राष्ट्रिय सम्बन्धमा लोकतन्त्रलाई प्रोत्साहन दिने विश्वास व्यक्त गरे । यसबाट विश्वव्यापी रणनीतिक सन्तुलन र स्थिरता सुनिश्चित हुने उनको भनाइ थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट