Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा


चिनियाँ राष्ट्रपति सी जिनपिङ औपचारिक भ्रमणका लागि रुस पुगेका छन् । तीन दिने भ्रमणका लागि राष्ट्रपति सी आज सोमवार दिउँसो रुसको राजधानी मस्को पुगेका बीबीसीले जनाएको छ ।

गएको वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेपछि सी पहिलो पटक रुस पुगेका हुन्। उनले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग युक्रेन युद्धलगायत विषयमा वार्ता गर्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । रणनीतिक साझेदारीमा विस्तृत सम्झौता र युद्ध अन्त्यका लागि प्रस्ताव लिएर सी मस्को गएका चिनियाँ अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

चीनले रुस–युक्रेन युद्धको शान्तिपूर्ण अवतरण चाहेको विषय सार्वजनिक भएको दुई हप्तापछि दुई देशका राष्ट्रपतिबीच वार्ता हुन लागेको हो । उनीहरूबीच भोलि मङ्गलवार भेटवार्ता हुने कार्यक्रम छ । चिनियाँ विदेश मन्त्रालयले चीनले युद्ध अन्त्यको विषयमा रचनात्मक ढङ्गले वार्ता गर्ने उल्लेख गरेको छ ।

चिनियाँ राष्ट्रपति रुस गएको विषयलाई बेलायतले पनि स्वागत गरेको छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले युक्रेनको सार्वभौमसत्ताको रक्षाका लागि चीनले गर्न थालेको पहलप्रति बेलायत पनि सकारात्मक रहेको बताएको बीबीसीले जनाएको छ । चिनियाँ राष्ट्रपति सीले रुसी राष्ट्रपति पुटिनसँगको भेटपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि कुराकानी गर्ने तयारी रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट