Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

फिनल्यान्ड बन्यो नेटोको ३१ औँ सदस्य, पुटिनलाई झट्का


फिनल्यान्ड मङ्गलवार उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को ३१ औँ सदस्य बनेको छ । फिनल्यान्डलाई औपचारिकरूपमा नेटोमा सामेल गराउनका लागि नेटो मुख्यालय रहेको बेल्जियमको ब्रसेल्समा विशेष बैठक बसेको थियो ।

फिनल्यान्डले यसअघि असंलग्नताको नीति लिए पनि छिमेकी देश रुसले युक्रेनमा आक्रमण गरेर देश नै कब्जा गर्न लागेको भन्दै सुरक्षाका लागि नेटोमा संलग्न हुने निर्णय गरेको थियो । नेटोका कुनै पनि देशमा आक्रमण भएमा सबै सदस्य देशले आफैँलाई आक्रमण गरेको ठानेर सामूहिक प्रतिउत्तर दिने भएकाले नेटो सदस्यले सुरक्षित महसुस गर्छन् ।

फिनल्यान्ड नेटोको सदस्य हुनुलाई पश्चिमा देशले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई झट्काको रूपमा व्याख्या गरेका छन् । रुस र फिनल्यान्डबीच १३ सय ४० किलोमिटर लामो सीमा रहेको छ । रुसले बारम्बार नेटोको सदस्य नबन्न चेतावनी दिए पनि फिनल्यान्ड सदस्य बनेको हो ।

कुनै पनि देश नेटोको सदस्य बन्नका लागि सबै सदस्य देशको सहमति चाहिन्छ । फिनल्यान्डलाई सदस्य बन्न नदिन यसअघि टर्कीले लिएको अडान त्यागेपछि फिनल्यान्ड बल्ल सदस्य बन्न सफल भएको हो । सदस्य बन्न आवेदन दिए पनि टर्की र हङ्गेरीको असहमतिका कारण स्विडेनले भने नेटोको सदस्य बन्न पाएको छैन । नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले अब रुसको सीमामा रहेको फिनल्यान्डले आफूलाई सुरक्षित ठान्ने र नेटोलाई बलियो बनाउने बताएका छन् ।

दोस्रो विश्व युद्धपछि सन् १९४९ मा तत्कालीन सोभियत सङ्घलाई चुनौती दिन र सुरक्षित रहन भन्दै अमेरिका, क्यानडा, बेलायत र फ्रान्स मिलेर नेटोको स्थापना गरेका थिए । नेटोसँग अत्याधुनिक सेना र हतियार रहेका छन् । फिनल्यान्ड नेटोको ३१ औँ सदस्य भएसँगै नेटो देशहरूसँग रुसको सीमाको लम्बाइ दोब्बर भएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट