Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सुडानको सेना र अर्धसैनिक बलबीच भीषण लडाइँ


सुडानको सेना र एउटा अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ चलिरहेको छ । अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आर.एस.एफ)ले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएको दावी गरेको बीबीसीले जनाएको छ ।

सुडानी सेनाले भने त्यसलाई अस्वीकार गर्दै आफ्नो सेनाले लडाइँ गरिरहेको बताएको छ । खार्तुम सहित सुडानका अन्य ठाउँमा रहेका धेरै सैनिक शिविरमा र्‍यापिड सपोर्ट फोर्सका लडाकुहरूले आक्रमण गरेका छन् । भीषण भिडन्तबाट आफूलाई जोगाउन मानिसहरू संघर्ष गरिरहेका छन् । पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् । धेरै मानिसले विद्यालयमा आश्रय लिइरहेका बीबीसीले जनाएको छ ।

सुडानमा नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाका विषयमा विवाद रहेको छ । सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सुडानमा सैन्य जेनरलहरूले सार्वभौम परिषद् भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन् । आर.एस.एफ परिषद्का उपाध्यक्ष जेनरल मोहम्मद हमदान डगालोको नेतृत्वमा छ ।

परिषदको प्रमुखमा सेनाका समेत प्रमुख रहनुभएका जेनरल अब्देल फताह अल–बुर्हान छन्। नागरिक नेतृत्वको सरकारको प्रस्तावमा आर।एस।एफ।लाई राष्ट्रिय सेनामा समायोजन गर्ने तालिकामा बनाएको छ । आर.एस.एफ. ले समायोजन १० वर्ष पछि गर्न चाहेपनि सेनाले दुई वर्षभित्र सक्नुपर्नेमा जोड दिएपछि तनाव बढेको बीबीसीले जनाएको छ । प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने कुरामा पनि सेना र आर.एस.एफ बीच विवाद छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट