बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबद्वारा राजीनामा

बेलायती उपप्रधानमन्त्री डोमिनिक राबले हिजो पदबाट राजीनामा दिएका छन् । विभिन्न सरकारी विभागमा काम गर्ने क्रममा कर्मचारीलाई धम्की दिएको आरोपपछि उनले राजीनामा दिएका बीबीसीले जनाएको छ ।
सरकारी कर्मचारीसँग गरेको व्यवहारबारे औपचारिक उजुरीपछि राबले गएको नोभेम्बरमा नै जाँचको अनुरोध गरेका थिए । लगत्तै प्रधानमन्त्री ऋषि सुनकले वरिष्ठ वकिल एडम टालीलाई स्वतन्त्र अनुसन्धानको नेतृत्व गर्न नियुक्त गरेका थिए ।
राबले ट्विटमार्फत् प्रधानमन्त्रीलाई सम्बोधन गरी राजीनामाको जानकारी गराएका छन् । उनी आफ्नो व्यक्तिगत आचरणका कारण सुनक नेतृत्वको सरकारबाट राजीनामा दिने तेस्रो वरिष्ठ मन्त्री हुन्। यसअघि मन्त्रिपरिषद्का सदस्य गेभिन विलियम्सनले गएको नोभेम्बरमा राजीनामा दिएका थिए ।
त्यस्तै प्रधानमन्त्री सुनकले जनवरीमा कन्जरभेटिभ पार्टीका अध्यक्ष नाधिम जहावीलाई बर्खास्त गरेका थिए । गएको अक्टोबरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि सुनकले ‘निष्ठा, व्यावसायिकता र जवाफदेहीता’ को सरकारको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया