Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चितवनको भाटभटेनीमा म्याद गुज्रेका सामाग्री


चितवन, जेठ १८ गते । भरतपुरको भाटभटेनी तथा जुस पसलमा म्याद गुज्रेका सामग्री र अखाद्य वस्तु फेला परेको छ ।

भरतपुर महानगरपालिकाले गरेको खाद्यान्न सम्बन्धी अनुगमनका क्रममा भाटभटेनी सुपर मार्केटदेखि सडक किनारमा बिक्री गर्दै आएको जुस पसलसम्म मानव स्वास्थ्यलाई प्रतिकुल प्रभाव पार्ने सामग्री पाइएको हो । भाटभटेनीले न्यून गुणस्तरीय र म्याद सकिएको सामान बेचेको भन्ने गुनासो आएपछि अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा बिग्रिएको निउरो, साग फेला परेको भरतपुर महानगरपालिका १० का वडाध्यक्ष परमेश्वर खनालले जानकारी दिए । बिग्रिएको एक÷एक मुठा निउरो र साग अनुगमन टोलीले जफत गरेको थियो ।

त्यस्तै, भाटभटेनीले भारतीय माछा प्याकिङ गरेर बिक्री गर्ने गरेको पाइएको छ । नेपालका माछा पालक किसानले भारतीय माछा ल्याउन प्रतिबन्ध लगाउनुपर्ने माग गरिरहेका बेला भाटभटेनीले भने धमाधम भारतीय माछा बिक्री गरिरहेको हो ।

अनुगमन टोलीले भाटभटेनीको स्टोर रुमको पनि निरीक्षण गरेको थियो । स्टोर रूपमा खाद्य र अखाद्य वस्तु दुवै एकै ठाउँमा राखेको र अव्यवस्थित पाइएको वडाध्यक्ष खनालले बताए । ‘खाने चिजहरू अत्यन्तै अव्यवस्थित र केही कुहिएको पनि भेटियो’, उनले भने, ‘अर्कोतिर प्रतिबन्ध नै लगाउनुपर्ने भारतीय माछा पनि ल्याएर बिक्री गरेको पायौँ ।’

त्यस्तै गरी भरतपुर ओरालोमा रहेको वीरेन्द्र जुस सेन्टरले फलफूल पकाउन हानिकारक विषादी क्याल्सियम कार्बाइड प्रयोग गरेको पाइएको छ । क्यान्सर जस्तो गम्भीर रोग लाग्न सक्ने विषादीको प्रयोग गरेको भेटिएपछि भरतपुर महानगरपालिकाले उक्त पसल बन्द गराएको छ ।

उक्त जुस पसलमा लस्सी बनाउँदा कुहिएको केरा प्रयोग गर्ने गरेको, अन्य जुस बनाउँदा सडेको सामग्री प्रयोग गर्ने गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख घननाथ अधिकारीले जानकारी दिए । भरतपुरकै विभिन्न स्थानमा शाखा रहेको यो जुस सेन्टरलाई महानगरले खाद्य ऐन अनुसार नै कारबाही गर्ने तयारीमा छ ।

मानव स्वास्थ्यमा गम्भीर असर गर्ने विषादीको प्रयोग गरेको पाइएपछि पसल बन्द गराइएको भरतपुर १० का वडा अध्यक्ष खनालले बताए । उक्त पसललाई खाद्य ऐन अनुसार थप कारबाहीको प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । बजार अनुगमनका क्रममा उक्त जुस सेन्टरमा पुगेको अनुगमन टोलीले पसल बन्द गर्ने निर्णय गरेको हो । मानव स्वास्थ्यका लागि अक्षम्य गल्ती गरेकाले पसल सञ्चालकलाई खाद्य ऐन अनुसार कारबाही हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका अधिकारीले बताए ।

अनुगमनमा वडा अध्यक्ष खनाल, अधिकारी, भरतपुर महानगरको अनुगमन समितिका सदस्य विष्णुबहादुर भुजेल, पशु सेवा शाखाका अधिकृत शिव अर्याल, उपभोक्ता अधिकार संरक्षण मञ्चका उपाध्यक्ष विष्णु भुसाललगायतको सहभागिता थियो ।


क्याटेगोरी : अर्थ, जनमञ्च, बाग्मती प्रदेश
ट्याग : #bhatbhateni, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट