Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

लगानी सम्मेलनका लागि शंखरापुर नगरपालिकाले थाल्यो पूर्व तयारी


काठमाडौं, १९ फागुन । काठमाडौंको शंखरापुर नगरपालिकाले समग्र विकास तथा आर्थिक समृद्धिका लागि लगानी सम्मेलनको पूर्व तयारी थालेको छ ।

नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक, पर्यटकीय, कृषि लगायत विभिन्न पक्षको विकासका लागि आगामी दिनमा लगानी सम्मेलन गर्ने योजना स्वरुप बिहिबार सर्वपक्षीय अन्र्तक्रिया कार्यक्रम गरिएको छ । लगानी सम्मेलनको पूर्व तयारी र विगतको पाँच वर्षमा स्थानीय तहले गरेका अशल अभ्यासका बारेमा पूर्व अर्थसचिव कृष्णहरि बास्कोटाले अन्र्तक्रिया कार्यक्रमको सहजीकरण गरेका थिए ।

शंखरापुर नगरपालिकामा भौगोलिक, सामाजिक, कृषि, पर्यटकीय पक्ष, धार्मिक सांस्कृतिक पक्षहरुमा के के गर्न सकिन्छ भनेर अध्ययनका लागि लगानी सम्मेलनको पूर्व तयारी स्वरुप अन्र्तक्रिया कार्यक्रम गरिएको नगरप्रमुख रमेश नापितले बताए । उनले भने, ‘शंखरापुरबासीलाई आर्थिक रुपमा सक्षम बनाउँन यहाँ के–के संभाव्यता हुन सक्छ भनेर छलफल गरेर संभावनाको खोजी गर्न, कुन कुन क्षेत्रमा कसरी लगानी भित्राउन सकिन्छ, कृषि, पशुपालन, पर्यटनका क्षेत्रमा के के गर्न सकिन्छ भन्ने उदेश्यले छलफललाई अघि बढाएका हौँ ।’

सो अवसरमा शंखरापुर नगरपालिकालाई आर्थिक हिसावले कसरी समृद्ध बनाउन सकिन्छ, कसरी रोजगारीका संभावनाहरुको ढोका खोल्न सकिन्छ ? आर्थिक प्रगतिका संभावना र स्रोतहरु के–के छन् त्यसको खोजी गर्ने हिसावले लगानी सम्मेलनबारे अन्र्तक्रिया कार्यक्रम गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले बताए ।

उनले लगानीको उपयुक्त वातावरण र नीतिहरु तर्जुमा गरेर स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्धेश्यका साथ कार्यक्रम गरिएको जानकारी गराउँदै सुरुवाती चरणमा पूर्व तयारी स्वरुप अन्र्तक्रिया गर्दै जाने र आगामी ६ महिनादेखि एक वर्ष भित्रमा लगानी सम्मेलन गर्न सके नगरपालिकाको आर्थिक सामाजिक विकासमा कोशेढुङ्गा सावित हुने उल्लेख गरे ।

उनले भने, ‘शंखरापुर नगरपालिकासँग प्रशस्त सम्भावना छ, त्यो सम्भावनाको बारेमा खोजी गर्ने, हाम्रा समस्या र सीमाहरुको बारेमा पहिचान गर्ने, लगानी भन्ने वित्तिकै स्रोत संभावनाको कुरा आउँछ, स्रोतको खोजीका लागि लगानी सम्मेलन महत्वपूर्ण हुन्छ ।’

उनले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले केही वर्षअघि गरेको लगानी सम्मेलनबाट लगानी भित्राएर थुप्रै परियोजनामा स्वदेशी तथा विदेशी लगानीकर्ता आएर काम गरेको उदाहरण प्रस्तुत समेत गरे ।

सो कार्यक्रममा पूर्व अर्थसचिव कृष्णहरि वास्कोटाले पहिलो सत्रमा वितेको पाँच वर्षमा स्थानीय तहले गरेका असल अभ्यासका उदाहारणहरु प्रस्तुत गरेका थिए । दोश्रो सत्रमा लगानी सम्मेलन भनेको के हो, त्यसका लागि नगरपालिकामा कसको भूमिका के हुन्छ, त्यसको तयारी कसरी गर्ने, सरोकारवालाहरुको भूमिकालाई कसरी सहजीकरण गर्ने भन्ने विषयमा प्रस्तुतीकरण गरेका थिए ।

पूर्व सचिव वास्कोटाले पाँच वर्षको अवधीमा विभिन्न स्थानीय तहहरुले थालेको असल अभ्यासहरु मध्ये सो नगरपालिकामा पनि लागू गर्न सकिने विषयहरु, लगानी सम्मेलनका लागि नगरपालिकाले गर्नुपर्ने आधारभूत कामहरु र लगानी सम्मेलनपछिको संभाव्यताहरु लगायतका बारेमा आफ्नो प्रस्तुतीकरण गरेका थिए ।

उनले हरेक स्थानीय तहले लगानी सम्मेलन गर्नुपर्ने बताउँदै त्यस प्रकारको सम्मेलनले विकासको ढोका खोल्ने उल्लेख गरे ।

पूर्व सचिव बास्कोटाले भने, ‘लगानी सम्मेलनले त्यो स्थानीय तहभित्र भएका संभावनाहरु उजागर हुन्छ । लगानीकर्ताहरु त्यहाँ आकर्षित हुन्छन् । स्थानीय तहभित्र रहेका लगानीकर्ताहरु पनि सोही स्थानमा लगानी गर्न आकर्षित हुन्छन् । लगानी भएपछि त्यहाँभित्रको कच्चापदार्थको प्रयोग हुन्छ । लगानीको कारणले त्यहाँभित्र रहेका बेरोजगारहरुले रोजगारी पाउँछन् । लगानी भएपछि त्यहाँको उत्पादन बढ्छ र औद्योगिक विकास भएपछि आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । मुख्य कुरा लगानी सम्मेलनले आर्थिक संभावनाहरुको खोजी गर्छ । प्रत्येक घर परिवारका साथै त्यो स्थानीय तहलाई धनी बनाउँछ । लगानी सम्मेलनले आर्थिक समृद्धिको गोरेटो देखाउने हुनाले प्रत्येक स्थानीय तहले लगानी सम्मेलन गर्न आवश्यक छ ।’

सो अवसरमा नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले शंखरापुरमा कृषि, पर्यटन, पशुपालन, बन पैदावारको क्षेत्रमा प्रचुर संभावना भएपनि त्यसबाट फाइदा उठाउन नसकेको सन्र्दभमा आर्थिक समृद्धि हासिल गर्न, रोजगारीको क्षेत्र खोज्न, लगानीका क्षेत्रहरु खोजेर स्वदेशी तथा विदेशी लगानी भित्राउनका लागि लगानी सम्मेलनको पूर्व तयारीको क्रममा रहेको जानकारी दिए ।

सो अन्र्तक्रिया कार्यक्रममा नगरपालिकाभित्र रहेका विभिन्न दलका प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापकहरु, स्थानीयबासीहरु, नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट