Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

यात्रुबाट बढी भाडा असुल्ने पाँच जना बल्खुबाट पक्राउ


काठमाडौं, २० फागुन । निर्धारित भन्दा बढी भाडा यात्रुबाट असुल्ने पाँच जनालाई शनिबार बिहान बल्खुबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता इकाइबाट सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले आज बिहानै बल्खु क्षेत्रमा अनुगमन गर्दा तोकिएको भन्दा बढी भाडा असुल गरेको पाएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सुविधा काउण्टरका कामदार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ६ का २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने मकवानपुर इन्द्रसरोवर गाउँपालिका १ का २६ वर्षीय सुजन हुमागाईं, शिखरापुर काउण्टरका कामदार काठमाडौं चन्द्रागिरी नगरपालिका ९ का ३६ वर्षीय सुनिल नगरकोटी, गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक बाराको सिम्रौनगढ नगरपालिका ८ का २४ वर्षीय ओजिर अन्सारी र लालिगुराँस काउण्टरबाट सञ्चालित सुमोका चालक रौतहटको चन्द्रपुर ४ का २४ वर्षीय कृष्णबहादुर योञ्जन रहेका छन् ।

होलीको अवसर पारेर काठमाडौंबाट बाहिरी जिल्ला जाने यात्रुहरूसँग चालक तथा काउण्टरबाट निर्धारित भन्दा बढी भाडा लिने गरेको जनगुनासो आए पश्चात यस कार्यालयबाट सादा पोशाकमा समेत जनशक्ति परिचालित हुँदै आएका छन्।

निर्धारण गरिएको भन्दा बढी असुल गरेको भाडा यात्रुलाई फिर्ता गरिएको र नियन्त्रणमा आएका पाँचै जनालाई आवश्यक कार्वाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन्।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट