Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

निजी क्षेत्रको अहिलेसम्मकै ठूलो सोलुखोला जलविद्युत् आयोजना प्रधानमन्त्रीद्वारा उद्घाटन


काठमाडौं । निजी क्षेत्रको लगानीमा बनेको अहिलेसम्मकै ठूलो ८६ मेगावट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको उद्घाटन भएको छ । साहस ऊर्जा कम्पनी लिमिटेडले सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ तिङला र थुलुङ दूधकोसी गाउँपालिका ३ पञ्चनमा बनेको आयोजनाको मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा उद्घाटन गरेका हुन् ।

काठमाडौंको एक होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र पढेर भिडियोमार्फत आयोजनाको उद्घाटन गरे। कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले नेपालको इतिहासमा निजी क्षेत्रको लगानीमा अहिलेसम्मकै ठूलो जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर उद्घाटन हुनु गौरवको विषय भएको बताए । उनले भने, ‘नेपालीहरूले धेरै वर्षदेखि देखेको सपना आज व्यवहारमा उत्रिएको छ, वास्तवमा जलविद्युत् यस्तो प्राकृतिक स्रोत हो जसले देशलाई अनन्तकालसम्म आर्थिक आम्दानी दिइरहन्छ, यसले सिङ्गो राष्ट्रको अर्थतन्त्रमा नै सकारात्मक परिवर्तन ल्याउन सक्छ ।’

आफू गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बनेको समयमा १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरेको तर राजनीतिक घनाक्रमका कारण त्यो पूरा हुन नसकेको उनले बताए । ‘हाइड्रोइलेक्ट्रिसिटीबाट नेपाललाई एउटा नयाँ रुपान्तरणतिर लैजान सकिन्छ भन्ने सन्देश चाहिँ त्यो बेला दिएकै हो’, उनले भने । अब नेपाल विद्युत् उत्पादनमा आत्मनिर्भर बनिसकेकाले विद्युत् खपतलाई कसरी बढाउने भन्ने विषयमा सोच्ने बेला प्रधानमन्त्रीले बताए ।

कार्यक्रममा बोल्दै उनले नेपालले विद्युत् बिक्रीबाटै राम्रो आम्दानी गर्ने वातावरण सिर्जना भएको भन्दै अब आफूले इन्धनबाट चल्ने गाडीलाई विस्थापित गर्दै नेपालको इतिहासमै पहिलो पटक प्रधानमन्त्रीले विद्युतबाट चल्ने गाडी चढ्ने योजना बनाइरहेको सुनाए ।

यस आयोजनाको विद्युत् १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिङलामा रहेको लम्माने सबस्टेशनमा जोडिएको छ । विद्युत् गृहदेखि सबस्टेशनसम्मको आवश्यक १२ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैँले निर्माण गरेको हो । सोलुखोलामा पानीको मात्रा कम रहेका कारण अहिले ३० मेगावटसम्म विद्युत् उत्पादन भएको आयोजनाको उत्पादक प्रवर्धक साहस ऊर्जाका प्रमुख हिम पाठकले जानकारी दिए ।

 


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट