Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

चितवन एउटा गैँडा मृत अवस्थामा फेला


चितवन, २५ फागुन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ ।

निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत शेरी पोष्ट नजिक २० वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । निकुञ्जको नियमित गस्ती टोलीले बुधबार बिहान ९ः३० बजे मृत अवस्थामा गैँडालाई फेला पारेको थियो । एक आपसमा जुधेर मृत्यु भएको हुन सक्ने सूचना अधिकारी तिवारीले बताए ।

मृत गैँडाको खाग खुर सुरक्षित छ भने साउन महिना यता प्राकृतिक र चोरी शिकारीले गर्दा १३ वटा गैँडाको मृत्यु भएको छ । गैँडाको वासस्थान परिवर्तन भएर पश्चिम क्षेत्रमा धेरै हुन थालेपछि जुधेर मर्ने सख्या वृद्धि भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए । निकुञ्जको पूर्वी क्षेत्रमा स्थानान्तरण गर्ने र यहाँबाट अन्य निकुञ्जमा लैजानको लागि तयारी भए पनि काम हुन ढिलाइ भइराखेको उहाले बताए ।

पश्चिम अमलटाडी, कावासोती लगायतको क्षेत्रमा गैँडाको लागि उपयुक्त वासस्थान छ । नारायणी नदीको भँगालो, घाँसे मैदान, पानीको व्यवस्था, मानवीय चापको कमीलगायतको कारणले गैँडाको वासस्थान पश्चिम हुन थालेको छ । त्यसलाई व्यवस्थापन गर्नको लागि विभागबाट पनि पहल भइराखेको उनले जानकारी दिए । संरक्षित वन्यजन्तुका लागि सबैभन्दा महत्वपूर्ण वासस्थान रहेकाले त्यसतर्फ विभागको ध्यान गएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले बताए ।

गैँडाको सुरक्षाका लागि वासस्थानको सुधार, स्थानान्तरण, जनसङ्ख्या व्यवस्थापन, चोरीसिकारी नियन्त्रण, समुदाय परिचालनलगायतको काममा विभागले योजना अनुसार काम गरिराखेको जानकारी दिए । पछिल्लो गणना अनुसार निकुञ्जमा छ सय ९४ गैँडा छन् ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट