Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

खोटाङ खोलामा करेन्ट लगाएर माछा मार्न रोक


खोटाङ, ३ चैत । खोटाङको रावाबेसी गाउँपालिकाले नदी तथा खोलामा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न रोक लगाएको छ ।

दूधकोसी र रावा खोलामा अवैध तरिकाले करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्ने गरेको गुनासो आएपछि गाउँपालिकाले बिहीवार सूचना जारी गर्दै नदी तथा खोलामा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोगमा रोक लगाएको हो ।

करेन्ट र ब्लास्टिङको प्रयोग गर्दा नदी तथा खोलामा भएका सबै किसिमका जलचरको अस्तित्व नै समाप्त हुने र पर्यावरणमा क्षति पुग्ने भएकाले यस कार्यमा रोक लगाउनु परेको रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए ।

आउँदा दिनमा माछा मार्नेक्रममा नदी तथा खोलामा करेन्ट र विस्फोटक पदार्थ प्रयोग गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही हुने चेतावनी दिइएको छ । रावा खोलामा धेरैजसो अन्यत्रबाट आउने स्थानीयले माछा मार्नेक्रममा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गर्ने गरेको गाउँपालिकाले जनाएको छ । दूधकोसीमा भने स्थानीयले नै विष तथा ब्लास्टिङ लगाउने गरेको बताइएको छ । रावा खोलाको असला माछा देशभर प्रशिद्ध छ । असला माछाको सुकुटी विभिन्न बजारमा पुग्ने गरेको छ । रावा खोलाको माछा मारेर स्थानीयले राम्रो आयआर्जन गर्दैआएका छन् ।

खोटाङको खोलानाला सयौँ प्रजातिका माछा, पाहा, पक्षी लगायतका जलचर प्राणीका लागि प्रख्यात छ । जिल्लाको रावा खोला, साप्सु खोला, वुवाँ खोला, टुवा खोला, सावा खोला तथा अन्य साना खोलाखोल्सीमा लुकिछिपी करेन्ट र विस्फोटक पदार्थ प्रयोग गर्ने गरिएको जनगुनासो छ । कतिपय खोलामा विष समेत हाल्ने गरिएको छ ।

नदी तथा खोलाको माछा मार्नेक्रममा विष, विस्फोटक पदार्थ तथा करेन्ट प्रयोग नगर्न स्थानीय सरकार र स्थानीयवासीले सूचना जारी गर्दा समेत यो क्रम भने रोकिएको छैन ।


क्याटेगोरी : जनमञ्च, समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट