Techie IT
  • १२ वैशाख २०८१, बुधबार
Jhilko

देशका धेरै ठाउँमा वर्षा, भोलि र पर्सि पनि पानी पर्ने सम्भावना


काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाँउमा अहिले पानी परिरहेको छ । केही दिनदेखि वर्षा गराउने प्रणाली देशैभरि फैलिएकाले धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

यो प्रणालीका कारण भोलि शनिवार र पर्सि आइतवार पनि वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन् । उनका अनुसार गण्डकी, कर्णाली र लुम्बिनीका केही ठाउँमा मेघगर्जन र हावाहुरीसहित बदली हुने सम्भावना छ ।

यसैबीच हिउँदे वर्षाले किसानलाई राहत मिलेको छ । वर्षाले मकै छर्ने तयारीमा रहेका किसानलाई राहत मिलेको छ । गएको असोज महिनामा परेको पानी त्यसयता हिउँदको समयमा परेको थिएन । पानी परेसँगै किसानले लगाएका मौसमी तथा बेमौसी तरकारी, फलफूल अन्य बालीलाई राहत मिलेको छ ।

यस्तै चैते वर्षाले महोत्तरीलगायत मधेसको जनजीवनमा राहत भएको छ । महोत्तरीसहितका मधेसका धेरैजसो ठाउँमा आज बिहान सामान्य बदलीबीच भएको अल्प वर्षाले चढ्दो गर्मीबाट राहत पाएको सर्वसाधारणले बताएका छन् । यसपालि पूरै हिउँद पानी नपरि बितेका बेला चैतको सुरुमै सिमसिमे पानी परेको हो ।

आजको वर्षाले वैशाखी तरकारीका बेला (लहरा) पात भिजाएको, फलफूलका बोट (आँप, लिची) का मज्जर (मञ्जरी, फूल) र पातमा लागेका किरा, धब्बा पखालेको बर्दिबास–५ ढुङ्ग्रे बस्तीका किसान दलबहादुर थापा मगरले बताए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट