Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अनुशासित र स्वच्छ प्रहरी आवश्यक : गृहसचिव सिंह


काठमाडौं, १२ चैत । गृहसचिव विनोदप्रकाश सिंहले देशमा अनुशासित र स्वच्छ प्रहरी आवश्यक रहेको बताएका छन् । आइतबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिह्न प्रदान गर्दै उनले यस्तो बताएका हुन् ।

सचिव सिंहले अनुशासित, स्वच्छ र व्यावसायिक प्रहरीले मात्र समस्याको समाधान गर्ने उल्लेख गरे । समाजमा प्राविधिक गतिविधिमार्फत अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यकता रहेको उनले बताए ।

अनुशासनहीनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापलाई शून्य सहनशीलतामा लैजानुपर्नेमा उनले जोड दिए ।

“अहिले अनुशासित र स्वच्छ प्रहरी हामीलाई चाहिएको छ । व्यावसायिक प्रहरी हामीलाई चाहिएको छ । धेरै बाधाहरू छन्, हामीलाई थाहा छ, व्यवासायिक प्रहरी भन्नेबित्तिकै तालिमको कुरा छ, अन्य कुराहरू छन्, नयाँ प्रविधिको कुरा छ । तर, यी समस्या समाधानका लागि पदमा बस्ने कर्मचारीहरूको मनोबल र अठोट हुने हो भने त्यसमा पनि राम्रो गर्न सकिन्छ,” उनले भने, “अनुशासनहीनतालाई, लापरबाहीलाई र भ्रष्टाचारजन्य क्रियाकलापहरूलाई शून्य सहनशीलता बनाउनुहुनेछ । मन्त्रालय देखिने गरी सुधार भएको हेर्न चाहन्छ । विगतमा सुधारका क्रमहरू चलेका छन् । तर, त्यो सुधार अझै पनि पूर्ण भएको जस्तो लाग्दैन । आन्तरिक सुदृढीकरण प्रमुख आधार रहेको छ । हामी समाजका बेथितिहरू, अन्य गलत क्रियाकलाप नियन्त्रण गर्नलाई हामी आफैँ कति सक्षम र सुदृढ छौँ भन्ने कुराले महत्त्व राख्छ ।”

सचिव सिंहले प्रहरी प्रशासनमा अझै पनि पूर्ण रूपमा सुधार नदेखिएको बताए । उनले प्रहरी प्रशासनको आन्तरिक सुदृढीकरण गरी समाजका बेथिति र गलत क्रियाकलाप नियन्त्रण गर्नुपर्नेमा समेत जोड दिए ।

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिह्न प्रदान

 


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट