Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कोशी प्रदेश सरकारले विरोध प्रदर्शनका क्रममा मृत्यु भएका पदमबहादुरको परिवारलाई तीन लाख रुपैयाँ दिने


विराटनगर, १३ चैत । कोशी प्रदेश सरकारले विरोध प्रदर्शनका क्रममा घाइते भई उपचारका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बू लाजेहाङको परिवारलाई तीन लाख रुपियाँ राहत दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालका लागि तीन लाख रुपियाँ राहत दिने निर्णय गरेको हो ।

पहिचान झल्किने नाम नराखेर कोशी प्रदेश नामकरण गरेको विरोधमा विभिन्न जातीय पहिचान भएका सामाजिक संघसंस्थाहरुको संयुक्त विरोध प्रदर्शनका क्रममा घाइते भएका लाजेहाङको उपचारका क्रममा मृत्यु भएको थियो । विराटनगरको प्रदर्शनका क्रममा टाउकोमा लाठीले लागेर घाइते भएका लाजेहाङको अवस्थाको बारेमा स्वयम् आन्दोलनरत पक्षलेसमेत दुई दिनपछि मात्र जानकारी पाएको थियो ।

चैत ५ गते विराटनगरको रोडशेष चोकमा निषेधाज्ञा उल्लंघन गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ भीड बढ्ने क्रममा प्रहरीले सामानय बल प्रयोग गरेको थियो । त्यस क्रममा प्रहरीले लाठी चार्ज नगरे पनि अश्रुग्यास र हवाइफायर गरेर भीडलाई तितरबितर बनाएको थियो ।

सोही घटनामा घाइते हुनुभएका लाजेहाङको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो । उक्त घटनामा लाजेहाङ प्रहरी र आन्दोलनकारी मध्ये कुन पक्षको प्रहारबाट घाइते भएको हो त्यस विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रदेश सरकारले लिम्बूको निधनप्रति गहिरो व्यक्त गर्दै राहत प्रदान गर्ने निर्णय गरेको हो । साथै, मन्त्रिपरिषद्को बैठकले सङ्घीय सरकारले उक्त घटना छानविन गर्न गठन गरेको छानविन समितिलाई सहजीकरण गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान कलबलगुडी झापाको रिक्त रहेको निर्देशक पदमा प्रदेश सचिव कृष्ण सापकोटालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यस्तै, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पेश गरेको प्रदेश वातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७ संसोधन विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको समपुरक अनुदान कार्यविधि संशोधन प्रस्ताव पनि पारित गरेको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट