Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

फिलिपिन्समा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु


मनिला, चैत १६ गते । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार २३ जना घाइते भएका छन् भने सात जना अझै हराइरहेका छन् ।

गए राति जहाजमा आगो लागेपछि चालक दलका ३५ जना सदस्य र एक सय ९० जना यात्रीलाई तट रक्षक र माझीहरूको सहयोगमा सकुशल उद्धार गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन् । पानी जहाजमा दुई सय ५० भन्दा बढी यात्री रहेका बताइएको छ ।

लेडी मेरी जोय–३ नामको पानीजहाज मिन्डानाओ टापुको जाम्बोआङ्गा सहरबाट सुलु प्रान्तको जोलो टापुतर्फ गइरहेका बेला आगो लागेको थियो । सात हजारभन्दा बढी टापुको द्वीपसमूह फिलिपिन्समा अव्यवस्थित समुद्री यातायात, नियमित अनुगमनको अभाव र भिडभाडका कारण बेलाबेलामा यस्ता दुर्घटना हुनेगरेका छन् ।

सन् १९८७ को डिसेम्बरमा डोना पाज नामको पानीजहाज इन्धन बोकेको अर्को जहाजसँग ठोक्किएर डुब्दा चार हजार तीन सयभन्दा बढीको मृत्यु भएको थियो । शान्तिकालमा समुद्री भवितव्यमा परेर विश्वमा त्यति धेरै मानिसको एकैपटक ज्यान गएको इतिहास छैन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट