Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

मिटरब्याज पीडित र सरकारी टोलीबीच भोलि फेरि वार्ता हुने


काठमाडौं । मिटरब्याज पीडित र सरकारी टोलीबीच भोलि शनिवार फेरि वार्ता गर्ने गरी आज शुक्रवारको छलफल टुङ्गिएको छ ।

मिटरब्याज पीडितविरुद्ध सङ्घर्ष समितिका संयोजक मनोज पासवानका अनुसार उहाँहरूले बुझाएको १० बुँदे मागमध्ये आज पाँच वटा बुँदामा दफावार छलफल भएको र भोलि बिहान ११ बजे फेरि वार्ता गर्ने गरी आजको छलफल टुङ्गिएको छ ।

हिजो बेलुकी ६ बजे वार्ता बस्ने कुरा भए पनि यसअघि सरकारले गठन गरेको आयोगको प्रतिवेदन अध्ययन र छलफल गर्न समय लागेकोले आज बिहान १० बजे बस्ने भनिको वार्ता बिहान साढे ७ बजे नै सुरु भएको पनि पासवानले बताए । मिटरब्याज पीडितको समस्या अहिले भर्खरको समस्या नभएको र यसअघि पनि सरकारसँग यस्तै प्रकृतिको मुद्दामा सम्झौता भएकोमा त्यस सम्झौतालाई सरकारले कार्यान्वयन नगरेका कारण अहिले आफूहरूले राखेको दश बुँदे मागमा मिहिन ढङ्गले दफावार छलफल भएको उनले बताए ।

मिटरब्याजीहरूले अदालतबाट आफ्नो पक्षमा फैसला गराएका कारण पीडितले कानुनीरूपमा न्याय पाउने आश नभएका कारण अहिले एउटा शक्तिशाली आयोग गठन र तमसुक खारेज सम्बन्धमा विशेष छलफल भइरहेको पनि संयोजक पासवानको भनाइ छ । अहिले तमसुक मिटरब्याजीहरूको पक्षमा रहेको र त्यही तमसुकका आधारमा उनीहरूले आफ्नो पक्षमा फैसला गराउने गरेका कारण कानुन र अदालत दुवै मिटरब्याज पीडितको पक्षमा नभएको उनले बताए । यस्तो अवस्थामा अदालतबाट पीडितको गुमेको सम्पत्ति फिर्ता हुन नसक्ने हुँदा यो सबै समाधानका लागि पनि नयाँ कानुन बन्नुपर्ने माग सरकारी वार्ता टोलीसमक्ष राखेको उनले जनाए ।

आयोगले के–के काम गर्ने, कसरी काम गर्ने भन्ने सन्दर्भमा आज पनि पूर्णरूपमा छलफल हुन नसकेका कारण भोलि फेरि वार्तामा बस्न लागिएको संयोजक पासवानले जानकारी दिनुभयो । सरकारी टोली पनि यो मिटरब्याज के हो र कसरी समाधान गर्ने भन्नेतर्फ पूर्णरूपमा लागिपरेका कारण वार्ता समस्या समाधान गर्ने गरी अगाडि बढेका कारण पनि समय लागेको उहाँको भनाइ छ ।

पासवानका अनुसार सरकारले यसअघि पनि सम्झौता गरेर लागू नगरेका कारण अहिले पनि त्यस्तै हुने डरले जतिसुकै समय लागे पनि निष्कर्ष ननिस्की यहाँबाट नजाने समितिले अडान लिएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट