Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

काठमाडौंको सुन्दरीजल–जोरपाटी खण्डमा मेलम्चीको पानी ल्याउन थप पाइप बिछ्याइँदै


काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा ल्याउनका लागि सुन्दरीजलबाट जोरपाटी खण्डमा आवश्यक पर्ने थप पाइप बिछ्याउन सुरु गरिएको छ । सुन्दरीजलबाट जोरपाटीसम्म ११ किलोमिटर लम्बाइमा अहिले रहेको पाइप पर्याप्त नभएकाले थप पाइप बिछ्याउन लागिएको हो।

मेलम्चीको पानी पहिले सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा जान्छ । केन्द्रमा प्रशोधन भएपछि काठमाडौं उपत्यकाका अरु ठाउँमा जान्छ । अहिले भइरहेको पाइपबाट पानी ल्याए पनि भविष्यमा थप पानी ल्याउन थप पाइप आवश्यक रहेको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा दैनिक ५१ करोड लिटर पानी उपत्यका आउनेछ । दैनिक ५१ करोड पानी आउँदा त्यसका लागि आवश्यक पाइप बिछ्याउन लागिएको निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पन श्रेष्ठले जानकारी दिए ।

सुन्दरीजलबाट काम सुरु गरेर चाबहिलतर्फ गर्दै जाने योजना रहेको उनले बताए । एक हजार आठ सय र एक हजार छ सय मिलिमिटरको जीआई पाइप बिछ्याउन लागिएको हो ।

पहिले बिछ्याइएको पाइपको क्षमता २२ करोड लिटर रहेकामा अब २८ करोडको बिछ्याउन लागिएको निर्देशनालयले जनाएको छ । अहिले हिउँदमा दैनिक १७ करोड लिटर पानी काठमाण्डौ उपत्यकामा ल्याइएको छ । अहिले पनि वर्षामा दैनिक ५१ करोड लिटरसम्म पानी ल्याउन सकिने सम्भावना रहेको छ । क्षमताअनुसारको पानी ल्याउनका लागि थप पाइप आवश्यक भएको हो ।

पाइप बिछ्याउने काम दुई वर्षमा सकाउनुपर्ने सूचना अधिकारी श्रेष्ठले बताए । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणमा याङ्ग्री र लार्के नदीको पानी ल्याउँदा अहिले भइरहेको पाइप पर्याप्त नहुने उनले बताए ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको आयोजनास्थलमा विभिन्न संरचनामा थप क्षति नपुगोस् भनेर सरकारले अहिले वर्षाको समयमा मेलम्चीको पानी ल्याएको छैन । सरकारले पछिल्लोपटक गएको मङ्सिरदेखि काठमाडौं उपत्यकामा पानी पुनः वितरण सुरु गरेको हो । वर्षा सुरु नहुँदासम्म पानी नियमित ल्याउन सकिने भए पनि वर्षाको समयमा नसकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । – रासस

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट