Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गाईभैँसीमा फैलिँदै ‘लम्पी स्किन’, किरा फट्याङ्ग्राको टोकाइबाट जोगाउन आग्रह


काठमाडौं । गाई/भैँसीलगायत पशुचौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग थप फैलने जोखिम बढेको छ । रोगको महामारी फैलिएपछि किसान चिन्तित भएका छन् । चितवन, बैतडी, पाल्पा, इलाम, सङ्खुवासभा, खोटाङलगायतका जिल्लामा फैलिएको रोगको प्रभावकारी उपचार हुन सकेको छैन । कतैरकतै पशुचौपाया मर्न थालेका छन् ।

पालिका तथा कृषि ज्ञान केन्द्रबाट लम्पी स्किन रोगको प्रभावकारी उपचारविधि पाउन नसकेको किसानको गुनासो छ । विगतमा फाट्टफुट्ट मात्रै पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण यसवर्ष थप फैलिएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कको पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा. दोजराज खनालका अनुसार गाई÷भैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्नेलगायत लक्षण देखिने गर्छ ।

लम्पी स्किन रोग नियन्त्रणका लागि अहिलेसम्म ठोस उपचार र भ्याक्सिन विकास नभएकाले रोगको लक्षण अनुसार उपचार हुँदै आएको विज्ञको भनाइ छ । रोग लागेका पशुचौपायालाई चरनमा नलैजान तथा क्वरेन्टिन गरी उपचार गर्न पशु सेवा विभागका उपमहानिर्देशक एवम् पशुपक्षी रोग अन्वेषण तथा नियन्त्रण महाशाखाका प्रमुख डा.वरुणकुमार शर्माको सुझाव छ ।

रोग लागेका पशुलाई अन्य पशुसँग सम्पर्कमा आउन नदिने, जैविक सुरक्षामा ध्यान दिने, गोठको सरसफाइ गरी किरा फट्याङ्ग्राको टोकाइबाट जोगाउन पनि उहाँको आग्रह छ । रोग लागेका क्षेत्रका पालिकाले लम्पी स्किन सार्ने झिँगा, लामखुट्टे र किर्ना मार्ने विषादी वितरण गर्न थालेका छन् ।

विज्ञका अनुसार लामखुट्टे, भुसुना, झिँगाको टोकाइबाट गाईभैँसीमा लम्पी स्किन सर्ने गरेको छ । भारत तथा चीनमा सन् २०१९ मा देखिएको रोग नेपालमा मोरङ हुँदै भित्रिएको थियो ।

 


क्याटेगोरी : कृषि, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट