Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

एसीसी प्रिमियर कप क्रिकेट : नेपालले मलेसियाविरुद्ध बलिङ गर्दै


काठमाडौं, ५ वैशाख । एसीसी प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्दैछ ।

त्रिवि मैदान कीर्तिपुरमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । प्रतियोगिताको परराष्ट्रमन्त्री एनपी साउदले उद्घाटन गरे ।

प्रिमियर कपको उपाधि चुम्ने लक्ष्य बोकेको नेपाल पहिलो खेलमै सुखद सुरुवात गर्ने योजनामा छ । नेपाल मलेसियामाथि सदाबहार जितको छवि कायम राख्ने लक्ष्यमा छ । नेपालका लागि मलेसिया तुलनात्मक रूपमा सहज प्रतिद्वन्द्वी हो ।

नेपाल र मलेसियाबीच यसअघि पाँच वटा अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा नेपालले सबै खेल जितेको छ । नेपाल र मलेसिया पछिल्लो पटक सन् २०१८ को एसिया कप छनोटमा भिडेका थिए । मलेसियामै भएको खेलमा नेपाल १९ रनले विजयी भएको थियो ।

एसीसी प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा ओमानसहित कतार, मलेसिया र साउदी अरब छन् । यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ । शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।

एसीसीले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिसकेको छ । तालिका अनुसार नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि मैदानमा खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ ओमानसँग खेल्नेछ । उक्त खेललाई एकदिवसीय मान्यतासमेत रहने छ । नेपालले समूहको तेस्रो खेल वैशाख ११ गते साउदी अरब र चौथो खेल वैशाख १४ गते कतारसँग खेल्नेछ । सेमिफाइनल वैशाख १६ र फाइनल खेल १८ गते कीर्तिपुरमा हुनेछ ।


क्याटेगोरी : खेलकुद, समाचार, बाग्मती प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट