Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

बैंकमा जम्मा भएर बसेको रकमलाई उद्योगमा लगानी गर्न माओवादी सांसद पौडेलको माग


काठमाण्डौं, ५ वैशाख । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बैंकमा जम्मा भएर बसेको रकमलाई उद्योगमा लगानी गर्न सरकारसँग माग गरेका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको उल्लेख गर्दै त्यो रकम देशका रुग्ण उद्योगहरूमा परिचालन गर्नुपर्ने बताएका हुन् । उनले अप्ठेरोमा परेका उद्योगहरूमा त्यो रकम परिचालन गरी रोजगारी सिर्जना गर्न माग गरे । त्यस्तै उनले देशमा ४० लाख खोप प्रयोगविहीन अवस्थामा रहेको भन्दै त्यस सम्बन्धमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने बताए ।

उनले भने, ‘बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको छ । ५५ खर्ब रुपैयाँ भनेको सरकारले औसत तीन पटक प्रस्तुत गर्ने बराबरको बजेट हो । त्यो रकमलाई छिट्टै देशका रुग्ण भएका, अप्ठेरोमा परेका उद्योगहरूमा परिचालन गरी रोजगार सिर्जना गर्ने गरी प्रधानमन्त्रीले गरेका घोषणाअनुसार अगाडि बढाइयोस् । यस्तै ४० लाख खोप प्रयोग नभएको भनेर समाचार आएको छ । त्यो खोप प्राविधिक हिसाबले नमिल्ने भएर प्रयोग नभएको हो कि हाम्रो लापर्बाहीको कारणले प्रयोग नभएको हो, त्यसको बारेमा पनि सम्बन्धित निकायले छानबिन गरोस् ।’

सांसद पौडेलले यस वर्ष विद्यार्थीले समयमै किताब पाउनु राम्रो भएको उल्लेख गर्दै यसैगरी अस्पतालमा पनि बिरामीले आकस्मिक उपचार पाउनुपर्ने बताए । उनले किसानले समयमै रासायनिक मल पाउनुपर्ने पनि बताए ।


क्याटेगोरी : अर्थ, समाचार, संसद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट