Techie IT
  • १३ जेठ २०८१, आईतबार
Jhilko

बेनी नगरपालिकामा भेटियो दुर्लभ मानिएको ‘किंग कोब्रा’


म्याग्दी, ७ वैशाख । बेनी नगरपालिका ९ घतानको एक घरमा दुर्लभ मानिएको ‘किंग कोब्रा’ अर्थात् राज नाग भेटिएको छ।

बुधबार (हिजो) साँझ घतानका टेकबहादुर खड्काको घरमा पिंडीमा अचानक राजजाग (किङ कोब्रा) देखिए पछि हेर्नेहरूको भीड लागेको बेनी नगरपालिका( ९ घतानका वडाअध्यक्ष चक्रवहादुर केसीले बताए।

विगत ९ वर्षदेखि पंक्षी तथा जंगली प्राणीहरूको खोज अनुसन्धानमा लागेका त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र उत्तीर्ण) केशव चोखालले मंगलबार खड्काको घरमा भेटिएको नाग दुर्लभ ‘किंग कोब्रा’ अर्थात् राज नाग नै भएको पुष्टी गरेका छन्।

चोखालका अनुसार २०७६ जेठमा पनि घतानकै कोशेपानीको जंगलमा किङ कोब्रा फेला परेको थियो। नेपालका लागि अत्यन्त दुर्लभ मानिएको सो सर्प पछिल्लो समय नेपालको मध्य पहाडी क्षेत्रहरूमा फाट्टफुट्ट देखिन थालेको प्राणी शास्त्रका अध्यता चोखालले बताए। चोखालका अनुसार यसको संरक्षणका लागि सरकार र समुदाय दुवै लाग्न आवश्यक छ।

नेपालीमा राजनाग,कालिनाग भनिने यो सर्पको वैज्ञानिक नाम ओपिओपगुस हन्नह हो। यो विशेष गरेर तराई क्षेत्र वा संरक्षित क्षेत्रमा पाइने सर्प भएपनि पछिल्लो समय जलवायु परिवर्तनका कारण मध्य पहाडी क्षेत्रमा बसाइ सरेको हुनसक्ने चोखालको अनुमान छ। यो अत्यन्त विषालु प्रजातिको सर्प भए पनि नेपालमा भने यसको टोकेको जानकारी भने नरहेको चोखालले बताए।

यो सर्पलाई नचलाउने,नजिस्काउने र यसको नजिकमा नजाने हो भने यसबाट बच्न सकिने चोखालको भनाइ रहेको छ। म्याग्दीमा २०७६ सालमा भेटिएको सो नाग ‘किंग कोब्रा’ अर्थात राज नाग नै भएको किंग कोब्राका विशेषज्ञ एवम् हिमालयन नेचरका अनुसन्धान अधिकृत जीवन थापाले पुष्टि गरेका थिए।

अहिले पनि सोही नाग पुनः खड्काको घरमा भेटिएको प्राणी शास्त्रका जानकार चोखालले बताए। चोखालका अनुसार नेपालमा पाइने ८२ प्रजातीका सर्पहरूमध्ये किंग कोब्राको संख्या अत्यन्त न्यून रहेको छ। यो सर्प नेपालको मात्रै नभएर विश्वकै सबैभन्दा ठूलो विषालु सर्प हो। यो सर्प दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका १६ वटा देशमा मात्रै पाइन्छ।

विश्वका १६ वटा देशमा पाइने भए पनि थाइल्याण्डको जंगली क्षेत्रमा बाहेक अरू ठाउँमा यो अत्यन्त दुर्लभ प्रजातीमा रहेको उनले जानकारी दिए।

चोखालका अनुसार यसले आहाराको रुपमा अरू सर्पलाई नै खाने गर्दछ। कहिलेकाँही आफ्नै प्रजातीका सर्पलाई पनि खाने गरेको अनुसन्धानबाट भेटिएको उनको भनाइ छ। चोखालले दिएको जानकारी अनुसार यसलाई आइयूटिएन९विश्व संरक्षण संघ०को रातो सूचिमा अति संवेदनशील भनेर सूचिकृत गरिएको छ। त्यसैगरी नेपालको कानुनले पनि संरक्षित वन्यजन्तुको सुचीमा राखेको छ। उनका अनुसार यो सर्प विश्वव्यापी नै अति कमलाई मात्र जानकारी भएको सर्प हो।

 


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट