Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

वायु सेवा निगम बिग्रनुमा राजनीतिक नेतृत्व जिम्मेवार : मन्त्री किराती


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) बिग्रनुमा राजनीतिक नेतृत्व नै जिम्मेवार भएको टिप्पणी गरेका छन् । उनले नयाँ विभागीय मन्त्री आएपछि निगमको कार्यकारीदेखि लिएर विभागीय प्रमुख नियुक्ति गर्दा आर्थिक चलखेलसमेत हुने गरेको दाबी गरे ।

नेपाल वायु सेवा निगमको वार्षिक समीक्षा बैठकका अवसरमा बोल्दै पर्यटनमन्त्री किरातीले निगम सुधार्ने व्यावसायिक कार्ययोजना बनाउने नभई पैसा असुल्ने कार्ययोजना बनाउने गरेको आरोपसमेत लगाए । उनले भने, ‘वायु सेवा निगम कमजोर बनाउने नेतृत्व नै रहेछन् । म मन्त्री भएको सय दिन भयो, यो बेलासम्म मलाई धेरै कुरा थाहा भयो, वायु सेवा निगमलाई यो अवस्थामा पुर्‍याउन राजनीतिक नेतृत्वकै ठूलो हात रहेछ । निगमका कर्मचारी पनि चोखा छैनन् ।’

मन्त्री किरातीले आफू कुनै पनि आर्थिक प्रलोभनमा नपरि निगमलाई सुधार्न भरपुर प्रयत्न गर्ने बताए । ‘विगत जे भयो, अब निगमलाई टुलुटुलु हेरेर बस्न सक्दिनँ । तपाईँहरूसँग मलाई विश्वास छ, अब निगमलाई यो भेन्टिलेटरको अवस्थाबाट सर्जरी गरेर स्वस्थ मान्छेजस्तै डिस्चार्ज गर्नुपर्छ’, उनले भने ।

निगमलाई सुधार्न जस्तोसुकै जोखिम मोल्न तयार रहेको भन्दै मन्त्री किरातीले आफूलाई कुनै पनि दबाब र प्रभावले फरक नपर्ने जिकिर गरे । उनले निगम सुधार्ने मौखिक प्रतिबद्धताको व्यावहारिक कार्यान्वयन गर्न पनि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिए ।

उनले निगमको सञ्चालक समिति सदस्यहरू सुविधाका लागि प्रतिस्पर्धा गरिरहेको सुनेको भन्दै सुविधाका लागि राजनीतिक नियुक्तिको दुरुपयोग हुन नहुने उल्लेख गरे ।

 


क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट